नलगाड नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय दल्लीमा १० कक्षा पढिरहेकी भूमिका पुन अझै विद्यालय जान सकेकी छैनन् । भूकम्पले घर भत्किँदा सँगै सुतेकी बहिनी बिनिताको ज्यान गयो । भूमिकासहित बुबाआमा घाइते भए । विद्यालय खुलेको थाहा पाए पनि आफू विद्यालय जान सक्ने अवस्थामा नभएको उनले सुनाइन् ।‘पालभित्रको बसाइ पनि अप्ठ्यारो छ, फेरि भूकम्प आउँछ कि भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘काखकी बहिनी र साथी गुमाएको बिर्सन सकेकी छैन । किताबकापी, ड्रेसहरू सबै च्यापिए, कसरी विद्यालय जाने ?’
भूकम्पमा परी घाइते भएका बुबाआमा अस्पतालबाट डिस्चार्ज भएपछि भेरी नगरपालिका–१ का पासाङ मल्ल पालको बसाइबाटै जसोतसो विद्यालय जान थालेका छन् । भेरी त्रिवेणी माविमा १० कक्षामा पढिरहेका उनीसँग पनि किताब छैनन् । एउटा संस्थाले दिएका केही कापी बोकेर विद्यालय आउन थालेका छन् ।
‘मेरा धेरै साथी त अझ पढ्न आएका छैनन् । मलाई पनि पढ्न मन लाग्दैन,’ उनले भने । पासाङलाई पढाउने शिक्षक विजय मल्ल भूकम्प प्रभावित विद्यार्थी विद्यालय आउनै नसकेको बताउँछन् । ७२ विद्यार्थी भएको कक्षा १० मा २८/२९ जना मात्र आउने गरेका छन् । ‘विद्यालय आउनेसँग पनि न कापीकिताब छन् न झोला–ड्रेस नै,’ उनले भने, ‘६० प्रतिशत बालबालिका किताबबिनै आउँछन् । कसैका सबै शैक्षिक सामग्री पुरिएका छन्, कसैका आधा ।’
भेरी–१ तीतेस्थित बागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले विद्यार्थीलाई कक्षामा उपस्थित गराइदिन अभिभावकलाई खबर गर्दै आए पनि सबै नियमित आउन नसकेको बताए । उक्त विद्यालयका १ छात्रा र १ छात्रको भूकम्पमा परेर मृत्यु भएको थियो । भेरी–१ रिम्नास्थित भेरी त्रिवेणी माविका शिक्षक रुद्रबहादुर वलीले नजिक घर भएका विद्यार्थी पालमै बसेर पढ्न आइरहे पनि धेरैजसो अझै विद्यालय आउन नसकेको बताए ।भेरी त्रिवेणी माविमा नलगाड नगरपालिकाको जुरेली, पाली, कल्तड, रुकुम पश्चिमको पीपलचौर, भेरी नगरपालिकाको घोइनेटालगायत ठाउँबाट आएका विद्यार्थी विद्यालय आसपासका घरमा भाडामा बस्थे । उनीहरू बस्ने घर भूकम्पले भत्किएपछि डेरामा बस्ने दुई सय विद्यार्थी विद्यालय आउन नसकेको शिक्षक वलीले बताए । ‘कतिपय विद्यार्थीले आफन्त, साथीभाइ र शैक्षिक सामग्री गुमाएको पीडा बिर्सन सकिरहेका छैनन्,’ उनले भने, ‘भयरहित वातावरणमा विद्यालय आउने व्यवस्था मिलाउन जरुरी छ ।’