प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
केही बेर अघि भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभयो । आजको बैठकमा २७० सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेको प्रतिनिधिसभामा जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरिरहनुभएका पशुपति शमशेर जबराले जानकारी दिनुभयो । उहाँलाइ सत्ता गठबन्धनका सबै दल सहित काँग्रेस, जसपा, लोसपा सबैले विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् । मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाइ मत दिनुभएन । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यस्तै सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।
संविधानको मर्म र भावना अनुरुप नै अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावना अनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरू न्यूनमत साझा कार्यक्रम अनुसार एक ठाउँमा आएको धारणा राख्नुभयो ।
प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उहाँले संविधानको कार्यान्वयन गर्ने आफूहरूको प्रतिबद्धता भएको दोहो¥याउनुभयो । संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उहाँले संसदको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने पनि बताउनुभयो । तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यकतालाइ छुटाउन पहल गरेको पनि उहाँले बताउनुभयो । तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उहाँको भनाइ थियो ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताउनुभएको थियो । रेशम चौधरीसहित थारु बन्दीहरू रिहा नभएसम्म आफूहरू प्रतिपक्षमै बस्ने उहाँको भनाइ रहेको थियो ।