नेपाल प्रहरीका झण्डै आधा संख्याका जुनियर अधिकृत आफ्नो सेवाबाट सन्तुष्ट पूर्ण नरहेको प्रहरीकै अध्ययनले देखाएको छ ।
प्रहरी प्रधान कार्यालयले जुनियर प्रहरी अधिकृतहरुको सेवाप्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्वहरुबारे गरेको अध्ययनमा सहभागीमध्ये ५३.४ प्रतिशतले मात्र सेवाप्रति पूर्णरुपमा सन्तुष्ट रहेको धारणा राखेका छन् ।
अन्वेषण, योजना तथा विकास निर्देशनालयले गरेको अध्ययनका लागि अन्तर्वार्तामा सहभागी भएकाहरुमध्ये ४१.८ प्रतिशतले पेशाबाट मध्यम सन्तुष्टि मात्रै मिल्ने बताएका छन् भने ४.८ प्रतिशतले पूर्णरुपमा असन्तुष्ट रहेको बताएका छन् ।
प्रहरीमा ७९ हजार ५४१ जनशक्तिमध्ये करिब १५ प्रतिशत जुनियर प्रहरी अधिकृत (प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक) छन् ।
समुदायस्तरका प्रहरी कार्यालयहरुको नेतृत्व जुनियर प्रहरी अधिकृतले गर्छन् भने फिल्डस्तरमा काम गर्ने तल्लो तहका प्रहरी जवान र प्रहरी हवल्दारहरु र माथिल्लो तहका सिनियर प्रहरी अधिकृतहरुबीचको समन्वयको भूमिका उनीहरुले गर्छन् । उनीहरुको काममा ह्रास आएको भन्दै प्रहरीले गरेको अध्ययनमा झण्डै आधा संख्याका जुनियर प्रहरी अधिकृतहरु सेवाबाट पूर्णरुपमा सन्तुष्ट नरहेको देखिएको हो ।
अनलाइनखबरले प्राप्त गरेको अन्वेषण प्रतिवेदन–२०७९ मा प्रहरीमार्फत राष्ट्रको सेवा गर्ने अवसर पाउनु, अपराध अनुसन्धान र नियन्त्रणको काम गर्न पाउँदा गर्व महसुस हुनुलाई ५३.४ प्रतिशतले सन्तुष्टिको मानक मानेका छन् ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुन पाउनुलाई पनि उनीहरुले सन्तुष्टिको कारण भनेका छन् । उनीहरुको बुझाइमा प्रहरी सेवामा अन्य सरकारी निकायको तुलनामा सामाजिक प्रतिष्ठा राम्रो छ भने जनसम्पर्क विस्तार गर्न पाउनुलाई पनि उनीहरुले सन्तुष्टिको आधार मानेका छन् ।
असन्तुष्टिका कारण
अध्ययन प्रतिवेदनमा जुनियर प्रहरी अधिृकतहरुको असन्तुष्टिको कारण पनि औंल्याइएको छ ।
‘म राजीनामा दिनुअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिएँ, त्यहाँ अहिले गएर जुनियर र सिनियर प्रहरी अधिकृतको शौचालय हेर्नुस्, त्यहीँ विभेद देखिहाल्नुहुन्छ’, पूर्वसई शम्भु सुस्केरा भन्छन् ।
‘असन्तुष्ट बनाउने तत्वहरुमा क्रमशः आर्थिक र अन्य सेवा सुविधामा कमी, समयमा सरुवा/बढुवा नहुनु, निष्पक्ष र समान व्यवहारको अभाव तथा न्यून प्रगतिको अवसर देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘निष्पक्ष मूल्यांकनको अभाव, सहज एवं हस्तक्षेपरहित कार्य वातावरणको अभाव, अत्यधिक ड्यूटी समय र आवश्यकता अनुसार विदा नपाउनु, स्केलका सामान गुणस्तरीय नहुनु र समयमा नपाउनुले पनि जुनियर प्रहरी अधिकृतमा असन्तुष्टि बढाएको छ ।’
जुनियर प्रहरी अधिकृतहरुले संयुक्त राष्ट्र संघको मिसनमा कटौती हुनु, अवसर र सुविधा वितरणमा पारदर्शिता नहुनु, सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप जस्ता कारणले पनि आफूहरु असन्तुष्ट रहेको बताएका छन् । कमान्डरको अनुचित आदेशलाई मान्नुपर्ने बाध्यताले गर्दा समेत प्रहरी सेवामा असन्तुष्टि बढेको अध्ययनले देखाएको छ ।
नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) शम्भु सुस्केराका अनुसार, माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुले जुनियर प्रहरीको अवस्थाबारे सोच्ने प्रवृत्ति नै छैन ।
‘मुख्य कुरा भनेको नेतृत्वको व्यवहार र गलत आचरण जुनियर प्रहरी अधिकृतहरुको असन्तुष्टिको कारण हो’, उनी भन्छन्, ‘भ्रष्टहरु जुनियर प्रहरीमा पनि नभएका होइनन्, तर माथिल्लो दर्जाकाले संगठनका साना दर्जाबारे पनि सोचिदिने हो भने स्थिति अहिले जस्तो हुँदैनथ्यो ।’
सुस्केरा आफैंले पनि सेवाप्रति असन्तुष्टिका कारण प्रहरीबाट राजीनामा दिएका थिए ।
‘म राजीनामा दिनुअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिएँ, त्यहाँ अहिले गएर जुनियर र सिनियर प्रहरी अधिकृतको शौचालय हेर्नुस्, त्यहीँ विभेद देखिहाल्नुहुन्छ’, सुस्केरा थप्छन्, ‘जुनियर प्रहरीले प्रयोग गर्ने शौचालयको स्थिति कति नाजुक छ, सिनियर प्रहरीले प्रयोग गर्ने कति वास्नादार छ ।’
प्रहरीमा संगठन प्रमुख र जवानको रासन एउटै हुने भएपनि खानाको गुणस्तर किन फरक हुन्छ भन्ने उनको प्रश्न छ । प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनले पनि स्केलको सामानको पर्याप्त वितरण र गुणस्तरले कार्य सन्तुष्टिमा प्रभाव पर्ने गरेको देखाएको छ ।
‘योग्यता, दक्षता र तालिमको आधारमा जिम्मेवारी वितरण नभई सुपरीवेक्षकको स्वेच्छाचारी आदेश, बाह्य प्रभावले संगठनमा जरा गाडी अवसरहरुबाट बञ्चित हुनु परेका कारण जुनियर प्रहरी अधिकृतहरु असन्तुष्ट रहेको देखिन्छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अनुमान योग्य सरुवा नहुनु र सरुवा भएको स्थानमा प्रहरी अधिकृतले खोजे अनुरुप जिम्मेवारी नपाउनुले पनि असन्तुष्टिको स्तर बढ्ने गरेको देखिन्छ ।’
अध्ययनमा खुला प्रतिस्पर्धा र बढुवाबाट आएका जुनियर प्रहरी अधिकृतबीच मतभेद रहेकाले पनि कार्य सन्तुष्टिमा ह्रास आएको औंल्याइएको छ । संगठनभित्र गरिने व्यवहारले पनि कार्यसन्तुष्टिमा प्रभाव पार्ने गरेको अध्ययनको निष्कर्ष छ ।
उच्च अधिकृत र तल्लो दर्जाबीच दूरी
नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार प्रहरीमा सिनियर प्रहरी अधिकृतले जुनियर अधिकृत र जवानलाई गर्ने व्यवहार कहिल्यै ठीक भएन ।
‘राजा महाराजाका पालामा हाकिम भनेको देउता सरह मानेर जे भन्यो, त्यही गरिहाल्ने अवस्था थियो । त्यतिबेला दुईबीच ठूलो दूरी थियो’, रेग्मी भन्छन्, ‘अहिलेको समाज त्यस्तो छैन, यसको असर प्रहरीमा पनि नपर्ने कुरा भएन । तर, प्रहरीका उच्च अधिकृतहरु अहिले पनि जुनियर प्रहरीलाई पहिलेको जस्तै व्यवहार गर्न खोज्छन् ।’
रेग्मीका अनुसार, समाजको परिवर्तनसँगै संगठनले आफूलाई परिवर्तन गर्न सकेको छैन । ‘अहिलेको समाजले दर्जाकै कारण कसैलाई तँ भन्नुपर्ने, कसैलाई हजुर भन्नुपर्ने भाष्य मन पाउँदैन’, उनी भन्छन्, ‘तर, प्रहरीमा अहिले पनि त्यही छ ।’
उनका अनुसार, गृह मन्त्रालयले पनि माथिल्लो दर्जाका अधिकृतहरुको व्यवस्थापन गर्दागर्दै तल्ला तहका अधिकृतहरुबारे सोच्दैन । ‘माथिल्लो दर्जाको व्यवस्थापन गर्न नसक्दा तल्लो तहको बढुवालाई अलपत्र पारेर राख्ने प्रवृत्ति छ’, उनी भन्छन् ।
प्रहरी प्रधान कार्यालयले गरेको अध्ययनको प्रतिवेदनमा पनि लामो समयदेखि पदोन्नति नभएका कारण समाज तथा परिवारमा जाँदा हिनताबोध पाइएको उल्लेख छ ।
‘१६/१७ वर्ष एउटै दर्जामा काम गर्नुपर्दा असहज महसुस हुने गरेकाले पनि तत्परतामा कमी आएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘असईमा प्रवेश गरेकाहरु खुलातर्फ इन्स्पेक्टरमा सफल नभए सइहरुको अवस्था देखेर राजीनामा दिने, विदेश जाने वा अर्को विकल्प खोज्ने गरेको देखिएको छ ।’
प्रतिवेदनमा कार्यबोझ अनुसार पारिश्रमिक, आर्थिक र वृत्ति विकासको अवसरमा न्यूनता, गुनासो सुनुवाइ नहुने, संगठनले उपलब्ध गराउने कल्याणकारी सुविधाहरु पारदर्शी र पर्याप्त नहुनु र बजार अनुसार रासन सापेक्ष नहुनुले पनि कार्य तत्परतामा ह्रास आएको उल्लेख छ ।
जुनियर प्रहरी अधिकृतलाई कार्यालयमा आवासको व्यवस्थापन नहुनु र अन्य निकायमा भए अनुसारको सेवा सुविधामा समानता नुहुनुले पनि कामप्रति उत्प्रेरणा न्यून गराएको अध्ययनमा सहभागीहरुले बताएका छन् ।
‘प्रहरीमा वृत्ति विकास विचित्रको छ, कक्षा १२ उत्तीर्ण गरेका सेनामा सेकेण्ड लेफ्टिनेन्ट हुन्छन्, निजामतीमा नायब सुब्बा, नेपाल प्रहरीमा चाहिँ खरदार सरह हुन्छन्’, प्रहरीका पूर्वसई सुस्केरा भन्छन्, ‘समग्र परिस्थिति यस्तो छ कि घुसखोरीमा नलाग्ने इमान्दार जुनियर प्रहरी अधिकृतले गरिबीका कारण जागिर छाड्नुपर्ने अवस्था छ ।’ त्यसैले अधिकांशले पेन्सन अवधि पुग्नेवित्तिकै राजीनामा दिएर विदेश जाने गरेको उनी बताउँछन् ।
उत्प्रेरणा जगाउने प्रयास
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्री भने जुनियर प्रहरी अधिकृतहरुको मनोबल बढाउन प्रहरीबाट सक्दो प्रयास भइरहेको बताउँछन् । त्यही अन्तर्गत काठमाडौं प्रहरी परिसरले शनिबार जुनियर प्रहरी अधिकारीहरुलाई फिल्म हेर्न हल पठाएको उनी बताउँछन् ।
‘मैले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख छँदा पनि यसरी फिल्म हेर्न पठाएको थिएँ, केही श्रीमान्–श्रीमतीलाई टिकट काटिदिएर घुम्न पनि पठाएको थिएँ’, खत्री भन्छन्, ‘प्रहरीमा जुनियर कर्मचारीमा कामको चाप एकदम धेरै हुन्छ, त्यसैले उत्प्रेरणाका लागि विभिन्न काम गर्नुपर्छ भन्नेमा हामी सचेत छौं ।’
उनका अनुसार, प्रहरी अधिकृतहरुमा डिप्रेसनको पनि समस्या देखिएकाले काउन्सिलिङका लागि कक्षाहरु सञ्चालन गर्ने तयारी समेत छ ।
‘त्यसबाहेक वृत्ति, विकासको कुरामा प्रहरी प्रधान कार्यालयले पनि काम गरिरहेको हुन्छ’, खत्रीले भने, ‘काठमाडौं प्रहरी प्रमुखका रुपमा मैले जुनियर प्रहरी कर्मचारीको गुनासो सुन्न भनेर उनीहरुलाई प्रत्येक आइतबार भेट्ने समय छुट्याउने गरेको छु ।’ यस्ता गतिविधिले तल्ला दर्जाका कर्मचारीहरुसँगको दूरी कम हुँदै जाने उनको विश्वास छ । onlinekhabar