४८ वर्षीय हरि ढुंगाना सपरिवार सुनसरीको इटहरी उपमहानगरपालिका-१० बुढीखोला किनारमा अवस्थित सुकुम्बासी बस्तीमा बस्छन् । जहाँ एक सय ५० बढी सुकुम्बासीहरू टहरा बनाएर बसेका छन् ।
सोही बस्तीमा आइतबार साँझ सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बास बस्न पुगेका थिए । सुकुम्बासी बस्तीमा यसरी विरलै सांसद र मन्त्री पुग्ने गरेको बताउँदै ढुंगाना भावुक भए । उनले भने 'संघीय सरकारका मन्त्रीज्यू हाम्रो बस्तीमा आउनुभयो, वडाध्यक्षले समेत हामीलाई चासो नदिएको बेला देशको मन्त्रीले हाम्रो बस्तीमा पाइला टेक्दा हामी त बढो हर्षित र भावुक भएका छौँ' ढुंगानाले भने 'नेता र नेतृत्वले हामी सुकुम्बासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्छन तर उहाँले त हाम्रो बस्तीमा आएर हाम्रो कुरा सुनिदिनुभयो, हाम्रो अवस्थाबारे जानकारी लिनुभयो । उहाँ जस्ता नेता यो देशले पाउनु ठुलो कुरा हो ।'
'सरकारमा रहेको मन्त्री सुकुम्बासी बस्तीमा आएर छलफल गर्नु धेरै सह्रनिय काम हो । सुकुम्बासीहरूले हालसम्म लालपुर्जा नपाएको कुरा मन्त्रीलाई सुनाउन पायौँ पक्कै उहाँले समस्य समधानका लागि सदनबाट नितिगत कुराहरू अगाडी बढाउनु हुनेछ' अर्का सुकुम्बासी प्रेमकुमार राईले भने ।
सोमबार हुने किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नुमाङ्गेन समारोहमा सहभागी हुन इलामको माङ्सेबुङ जानेक्रममा विराटनगर विमानस्थल हुँदै बास बस्न मन्त्री किराती सुकुम्बासी बस्ती पुगेका हुन् ।
आफ्नो विभाग नपरेपनि सुकुम्बासी समस्या राज्यको समस्या भएकाले उनीहरूको अवस्थ बुझ्नु आफ्नो दायित्व रहेको मन्त्री किरातीले बताए ।
'हामीले ठूला काम गर्न नसके पनि भुइँ मान्छेहरूका साना-साना समस्या हल गर्न सकियो भने मात्रै त्यो लोकतन्त्र हुन्छ । राज्यबाट पिछडिएका समुदाय र गरिब निमुखाको पनि राज्य हो भन्ने प्रत्याभुति दिलाउन सकियो भने मात्रै असली लोकतन्त्र हुन्छ' मन्त्री किरातीले भने 'लामो समय व्यवस्था परिवर्तनमा समय खर्चिएको हामीले अब एक ढिक्का भएर भुइँ मान्छेहरूको अवस्था सुधार्नुपर्छ ।'
सुकुम्बासी बस्तीमा मन्त्री किराती प्रेमकुमार राईको घरमा बास बसेका थिए । उनले त्यहाँबाटै सामाजिक सञ्जालमा लेखेका थिए 'झुल्किन्छ है घाम वस्तुअनुसार काँडाको आँखैमा काँडै संसार यो गीतसहित आनी छोइङ डोल्मालाई सम्झेको छु ।'
मन्त्री किरातीले सोमबार बिहान झापाको दमकलगायत स्थानमा जनभेटघाट गर्दै इलामको मांसेबुङ्ग पुगेका छन् । मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा इलामको मांसेबुङ्ग गएको बताए ।