सुर्खेत ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन् ।
बैतडीको झुलाघाट मध्यपहाडि लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आएका अध्यक्ष ओलीले मंसिरे झरिलाई वेवास्ता गर्दै अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको बताएका हुन ।
उनले पछिल्लो समयमा गठबन्धन दलहरुका कारण देशको स्वतन्त्रता कमजोर भएको र सिमा रक्षा गर्न सरकार असफल भएको टिप्पणी गरे ।
देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने अवस्थामा देशको अर्थतन्त्र पुगेको उनको आरोप छ ।
‘देश अहिले इतिहाँसमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्दन सरकारले ल्याएको हो ।’ उनले भने, ‘यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागि दल कानमा तेल हालेर बसेको छ । सत्तागठबन्धन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेका छन् ।’
पूर्व प्रधानमन्त्री ओलीले अहिले कृषिका उर्भर भूमिहरु उजाड हुँदै गएको बताए ।
‘दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु छन्, भु–परिवेष्ठित देशहरु छन्, उजाड भूगोल भएका देशहरु छन् तर विकास र समृद्धीका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन् ।’ उनले भने, ‘पहाडको स्थिती के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरु, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकिकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका संभावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि हामीले यो अभियान सुरु गरेका हौं ।’
छाता ओढेर वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई संवोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थितत्व रक्षा र समृद्धीका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
‘कुनैपनि वर्षले पुरानो हुने होइन् नीति र बिचारले पुरानो हुने हो । कांग्रेस पार्टी पुरानो भयो । अहिलेको सरकार पुरानो भयो । कुनै नीति, भिजन र उद्देश्य बिहिन सरकार एक वर्षमै धेरै पुरानो भैसक्यो’, नयाँ र पुरानो दल भन्नेहरुलाई जवाफ फर्काउँदै उनले भने, ‘एमालेलाई पुरानो भयो भन्ने को हो ? हाम्रो पार्टीलाई कस्ले पुरानो भयो भन्छ ? हामीसँग देशको रुपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ छ, गतिशील छ । त्यसैले एमाले पुरानो दल होइन बरु एमालेलाई पुरानो देख्ने नजर पुरानो हो ।’