तीन वर्ष अघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा एकजना वडाअध्यक्षसहित २३ जनालाई जन्मकैदको सजाय भएको छ ।जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले आइतबारदेखि जारी बहसको आज अन्तिम सुनुवाइ सकिएपछि यस्तो फैसला सुनाएको हो ।रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ।
सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्।
त्यसैगरी एकजना नाबालकलाई पनि जन्मकैदको सजाय भएको छ। नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ ।यो मुद्दामा अदालतले अन्य आठजनालाई भने सफाइ दिएको छ।रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए ।
जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।
त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।