संघीय संसदको कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले आफू संविधानअनुसार नै महासचिवको लागि सिफारिस भएको बताएका छन्।
महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभई पाण्डेलाई सिफारिस गरिएको भन्दै विवाद भइरहेको बेलामा उनले आफू संविधानअनुसार नै सिफारिस भएको दाबी गरेका हुन्।
अघिल्लो महासचिव गौतमको राजीनामा राष्ट्रपतिले स्वीकृत नगरीकन र संसदको सचिव पदबाट पाण्डेलाई राजीनामा नगराईकन महासचिवको लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल असन्तुष्ट छन्। तर,पाण्डे भने आफ्नो सिफारिस कानुनअनुसार नै भएको दाबी गर्छन्।
‘मलाई महासचिवमा सिफारिस गर्न कुनै हतारो भएको छैन। नेपालको कानुन र प्रचलनअनुसार नै मलाई सिफारिस गरिएको हो। अघिल्लो महासचिवको राजीनामा स्वीकृत नभए पनि राजीनामा दिएमा नै पद रिक्त हुने व्यवस्था छ। महासचिवमा सिफारिस हुन मैले सचिवबाट राजीनामा पनि गर्नुपर्दैन’,थाहाखबरसँग उनले भने।
गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए।
सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले पाण्डेलाई कार्यवाहक तोकेका हुन्।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले स्पष्ट पारेको छ।