रुसी सेनामा आबद्ध एक नेपालीले लेनिनको देशमा पुटिनको सिपाही बनेर बन्दुक बोक्दा कुनै गुनासो नभएको बताएका छन्।
डायमन्ड सी म्याग्देलीको नामबाट उनले हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै १ दशक रगत र पसिना बगाए पनि देश दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न नसकेको बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ, परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्ली–गल्लीमा भौतारिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।‘
यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भएको उनले लेखेका छन्।
उनले भनाइ जस्ताको त्यस्तै :
प्रिय साथीहरू
म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडियामा आबद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ।
यसबारे यहाँ आएका अरू साथीहरूले के बोल्छन्,के गर्छन् त्यो उनीहरूको विषय भयो तर म सार्वजनिक रूपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागी बन्दुक बोकेर झण्डै १ दशक रगत/पसिना बगाइयो।
अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ।
परिवर्तनको लागी दशकौँ योगदान गरेका हजारौँ योद्वाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ।
यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ।
पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरू अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनु भएको छ।
युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक/नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ। यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।
युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ?युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संगठनभित्र के गर्न पाइन्छ/के गर्न पाईन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरू पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रूपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु।
युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरूमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्टहरूको मतियार बन्न सकिन्न।
न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक बोकेको प्रति कुनै गुनासो छ।
आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन।
जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन,गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत् छ।
अन्त्यमा :-
सयौँ साथीहरूले रसिया भर्ती हुन आउनुपर्यो,के-कसरी हो?च्यानल मिलाइदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएको छ,एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी- यहाँ अहिले भर्ती बन्द छ,दलालहरूको भ्रममा नपर्नुहोला।