चोभारमा पहिलोपटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ। शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन्।
आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै नमूना जीपलाइनको रूपमा निर्माण गरिएको व्यवसायीले दाबी गरेका छन्। उनीहरूले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीनवटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ। शुरुमा एडभेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीनवटा अनुभव लिन सकिने बताएको छ। कार्यक्रममा बोल्दै जेभी एडभेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे।
उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीनवटा अनुभव लिन सकिने बताए। उनले जापानी प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धा सबैले अनुभव लिनसक्ने बताए।उनले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीनवटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीनवटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए। उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए।
उनले भने, ‘यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी हो। यसमा जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज छ। यसमा चार करोड लगानी भएको छ। एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीनवटै अनुभव लिनेलाई १ हजार २ सय छ। स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट छ। सबैले यसको अनुभव लिन सक्नुहुनेछ।’
कार्यक्रममा बोल्दै जेभी एडभेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हब बनाउन आवश्यक रहेको बताए। उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए।उनले भने, ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हब बनाउन लगानी गरिरहेका छौँ। यसलाई पर्यटकीय हब बनाउन सबैको सहयोग चाहिन्छ।’
कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका-६ का पूर्ववडाध्यक्ष न्हुछेबहादुर महर्जनले एडभेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे।चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एडभेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन्। उनले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताइन्। उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढीभन्दा बढी हुनुपर्ने बताइन्।