“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन। सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा सांसद लेखनाथ दाहाल राजनले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन्।”
यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उनको भनाइ छ।
संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उनको अनुभूति छ।
“विगतमा प्रतिनिधिसभाले विधायकी जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो, त्यो गरेको देखिएन। विसं २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भयो। त्यसदेखि अहिलेसम्म संविधानको जगमा उभिएर जसरी ऐन कानुन निर्माण गर्नुपर्ने थियो, ती ऐन कानुन निर्माण भएनन्”, उनले भने।
गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको उनी बताउँछन्।
संसद्भित्र विधेयक टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उनले सदन प्रभावकारी ढङ्गले सदन चल्न नसक्दा सो अवस्था देखिएको बताए।
“मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन”, सांसद दाहालले भने। ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताए।
पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखिएको सांसद दाहालको ठम्याइ छ।
“प्रतिपक्षी दलबाट ससाना विषयमा संसद् निरन्तर अवरोध गर्ने काम भयो। संस्थागत भ्रष्टाचारको विषय उठाउँदा एमालेबाट लगातार संसद अवरोध भयो”, उनले भने।
संसद्मा विषय उठान गर्दा प्रतिपक्षी उत्तेजित हुने र संसद्नै अवरुद्ध गर्ने अवस्था देखिनु गैरराजनीतिक चरित्र भएको उनको ठम्याई छ।
कमजोरी रहे सच्याउने, बहस र छलफल गरेर जाने सम्बन्धमा प्रतिपक्षीबाट परिपक्वपन नदेखिएको उल्लेख गर्दै उनले सहकार्य र प्रतिस्पर्धाको संस्कृतिलाई स्वीकार गर्ने गरेको नपाइएको बताए।
“सहकार्य नगरी अवरोध गर्ने प्रवृत्ति हाबी भयो”, उनले भने। सदनमा आफ्नो पार्टीको धारणा स्पष्ट ढङ्गले राख्ने र खरो रुपमा पार्टीको प्रतिरक्षा गर्ने दह्रिलो भूमिका निर्वाह गर्दै आएका सांसद दाहालले आलोचना र आरोपको जगमा मात्र राजनीति गर्ने संस्कृतिलाई सबै राजनीतिक दलले बदल्नुपर्ने बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै माओवादी केन्द्रका युवा नेता दाहालले कमजोरी सच्याउँदै नीतिगत र संरचनागत समस्या तथा कानुनी उल्झनका सम्बन्धमा गहिराइमा अध्ययन गरेर सामूहिक ढङ्गले छलफल र बहस गर्नुपर्ने बताए।
“सामूहिक ढङ्गले समस्याको समाधान गर्न प्रयत्न गर्नुपर्छ। यति गर्न सकिएन भने प्राप्त उपलब्धिको रक्षा गर्न सक्दैनौँ”, सांसद दाहालले भने, “संविधानको रक्षा र सफल कार्यान्वयन गर्न पनि सकिँदैन। संविधान निर्माणमा एकताबद्ध भएका परिवर्तनका पक्षधरहरु एक ठाउँमा नउभिइकन मुलुकको समृद्धि हासिल गर्न सकिँदैन।”
विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न माओवादी पार्टी गम्भीर भएर लागेको जनाउँदै उनले निश्चित विधि र प्रक्रिया पूरा गरेर बहस र छलफलमा भाग लिने, कमजोरी पत्ता लगाउने र सच्याउने सामूहिक सङ्कल्प र प्रतिबद्धताबिना मुलुकलाई अगाडि बढाउन नसकिने बताए।
विसं २०३३ असार १० गते सिन्धुलीमा जन्मेका लेखनाथ दाहाल २०४६ सालदेखि वामपन्थी आन्दोलनमा संलग्न भएका थिए। विसं २०४६ मा मोटो मसालको विद्यार्थी सङ्गठनको अध्यक्ष, २०४८ मा संयुक्त जनमोर्चाको इलाका सचिव रहेका उनी तत्कालीन नेकपा माओवादी केन्द्रले थालेको सशस्त्र युद्धमा सहभागी भए।
जनताको अपेक्षा विकास निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै सांसद दाहालले जनप्रतिनिधिलाई जनताले राजनीतिकभन्दा पनि सामाजिक भूमिकामा संलग्नता भएको हेर्न चाहेको अनुभव सुनाए।
“मर्दापर्दा, मुद्दा मामिला, अड्डा अदालत, नागरिकता, राहदानी, विकास निर्माणलगायत काममा जो जोडिएको जनताले उसैलाई विश्वास गर्छन्। जनताको बुझाइमा पनि फरक छ”, उनले भने।
राजनीतिक नेतृत्व भनेको नीति निर्माण गर्ने हो, नीति निर्माण तहमा देखिएका समस्या पहिचान र समाधान गर्ने हो भने बुझाइ कम रहेको उनको भनाइ छ। निर्वाचन जितेर गइसकेपछि नियमित आफूहरुको नियमित सम्पर्कमा हुनुपर्छ भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै सांसद दाहालले जनताले परिणाम होइन, उपस्थिति खोजेका छन् भने। “यसबाट पनि समस्या पैदा भएको छ”, उनले भने।
प्रत्येक सांसदले आफू संसदीय भूमिका रहेका, नीति निर्माणको तहमा सक्रियता देखाउनुपर्छ भनेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिँदै उनी सांसदले आफ्नो भूमिका बोध नगर्ने र नीति निर्माणभन्दा पनि सामाजिक भूमिकामा जनताले दैनिक खोज्ने अवस्था नै बाधक हुन भन्ने ठान्छन्।
उनले पाँच वर्ष जेल जीवनसमेत बिताए। २०५७ देखि पार्टी क्षेत्रीय ब्यूरो सदस्य हुँदै उनी हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्। विसं २०५७ मा माओवादीको युवा सङ्गठन वाइसिएलको महासचिव भए। विसं २०७४ को निर्वाचनमा उनी बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद दाहाल जिल्लामा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धि लाई ध्यान दिँदै रणनीतिक महत्वका आयोजना अघि बढाएका बताउँछन्।
अहिलेको संसद्को बनोट बहुरङ्गी प्रकारको रहेको उनको भनाइ छ। सङ्घर्षबाट खारिएर आएकादेखि सामाजिक सञ्जालबाट उदाएका सांसदको सदनमा उपस्थिति रहेको तथा संसदीय मर्यादा, मूल्य र मान्यतालाई ख्याल नगरी प्रस्तुत हुने अवस्था पनि देखिएको सांसद दाहालको मत छ।
आफूले कहिल्यै पनि संसद्मा उत्तेजित भएर कुनै विषयवस्तु नउठाएको जिकिर गर्दै उनले भ्रष्टाचारका विषयमा आफूले आवाज उठाउँदै आएको बताए।
“ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्छ भनेर मैले लगातार सदनमा आवाज उठाउँदै आएको छु”, उनले भने, “पशुपतिको जलहरीमा सुन भनेर पित्तलको रिङ लगाइएको विषयमा छानबिन गरौँ भनेर जिम्मेवारपूर्वक सदनमा प्रस्तुत भएको हुँ।”
संसदीय मूल्यमान्यता भित्र रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मनमा लागेको कुरा आफूले राख्दै आएको उनको भनाइ छ। जनताको समस्या र अपेक्षा सदनमा नै राख्ने उनको भनाइ छ।