प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोली काठमाडौँतर्फ प्रस्थान गरेको छ। टोली राजधानीतर्फ प्रस्थान गर्नुअघि एक कार्यक्रमबीच बिदाइ गरियो।
टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्ने कप्तान रितु कनौजियाले बताइन्। यसैबीच खेलाडीहरूलाई ट्र्याकसुट प्रायोजन गरेका सहदेव चन्द र दिनेश मल्ललाई धन्यवाद ज्ञापन गरिएको छ।
सुदूरपश्चिम प्रदेशको टोलीमा कप्तान रितुसँगै उपकप्तानमा विन्दु रावल, जानकी थापा, रूवी पोद्दार, लक्ष्मी साउद, मनिषा चौधरी, ईश्वरी विष्ट, रेवती धामी, राधिका पुजारा, सावित्री धामी, कविता जोशी, सम्झना खड्का, शोभा रोकाया र अनु कडायत रहेका छन्।
सुदूरपश्चिमको टोलीले पहिलो खेल एपीएफ क्लबसँग पुस ५ गते बिहीवार काठमाडौँको मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ।
विदाइमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धीरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंह, कञ्चनपुर जिल्ला क्रिकेट संघका सल्लाहकार तथा होली फेमिली स्कुलका अध्यक्ष भूपाल विष्टलगायतको उपस्थिति रहेको थियो। बिदाइ समारोहमा सहभागीहरूले टोलीलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकामना दिएका थिए।
प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र १ विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।