नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्म प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।
शनिवार वागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह गरे।
उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए। उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।
उनले भने, ‘सबै प्रदेश सम्मेलनमा जाँदा प्रदेश बन्यो तर अधिकार दिइएन भन्ने गुनासो छ। युरेनियम र हीरामोतीको खानी मागेको होइन। कानून र अधिकार मागेको हो। त्यो दिन सकिन्छ कि सकिँदैन। त्यो दिन नसकिने कारण के छ ? स्थानीय तहलाई अधिकार चाँडो दिने गरी निजामती, लोकसेवा, प्रहरी सम्बन्धी कानून निर्माण गरेर अधिकार सम्पन्न बनाइन्न भने सिंहदरबार घेर्छौं भन्नुभएको छ। काँग्रेसको महासमितिको बैठक हुँदासम्म कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरूसहित उपस्थित हुनेछौँ।’
महामन्त्री शर्माले रूस–युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पु¥याउनेहरूलाई कारबाही गर्नुपर्ने बताए। उनले युद्धमा ज्यान गुमाएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे।
उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभई योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए।