प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ऐतिहासिक काम गरे पनि प्रचार गर्न नजानिएको टिप्पणी गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले काठमाडौंको बूढानीलकण्ठमा पार्टीले आयोजना गरेको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा कसैले आँट नगरेका काम आफूले गरिरहेको जिकिर गरे।
‘पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मैले नै प्रस्ताव गरेको हो। ३० हजारजतिको ऋण मिनाहा, एक लाखजतिको ब्याज नलाग्ने निर्णय त्यतिबेलै गरेको हो। दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरियो, उज्यालो नेपालको अभियान सुरु गरियो। अरूले पिठो कराएर बेचे, हामीले राम्रो चामल पनि बेच्न जानिएन।’ उनले भने,‘ यति ठूलो चिज पनि हामीले बिक्री गर्न सकेनौँ । अरूले नगरेको पनि गरेको जसरी प्रचार गर्छन्। हामीले सकेनौं ।
उनले अबको डेढ वर्ष भित्र देशका सबै घरमा विद्युत पुग्ने भन्दै पूरै देश उज्यालो हुने दाबी गरे।
आफू प्रधानमन्त्री भएपछि सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक समावेश गराउने, भारतसँग विद्युत व्यापार, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माणलगायतका ऐतिहासिक काम गरेको उनको जिकिर छ।
‘बिगतम कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन्। प्रचार काम भयो । माओवादी बलियो भयो भने देशमा राम्रा काम हुन्छन् भन्ने सन्देश प्रचार गर्नुपर्यो।’ ’ कार्यकर्तालाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरुले यी कुरा छाती खोलेर जनतामा पुर्याउनुपर्यो ।’
उनले २५ वर्षदेखि लावारिस भएको पञ्चेश्वर परियोजना अहिले टुंगिने क्रममा अघि बढेको दाबी गरे । आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै उनले पुस १० गते सरकारले गरेका काम, गर्न बाँकी काम, अबको आक्रामक शैलीबारे राष्ट्रका नाममा सम्बोधन गरेर जानकारी गराउने पनि बताए।