रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् ।उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी पनि दिएको छ ।
नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक रोजगारीका क्रममा भोगेको अनुभव पनि उनीसँग छ । ‘विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न समस्या छैन’, उनले भने, ‘अरुको देशमा घण्टौं काम गर्छौं, कमाइ भएको पनि देख्छौं, तर स्वदेशमा काम गर्दैनौं कमाइ धेरै खोज्छौं, जति कमाए पनि कमै हुन्छ ।”
पूर्णबहादुरको परिवार स्वदेशमै केही गर्नुपर्छ भनेर रोल्पाबाट दाङ पशुपालनकै लागि झरेको हो । उनले राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख र छिमेकी लघुवित्तबाट छ लाख रुपैयाँ ऋण लिएर व्यवसाय थालेका थिए ।
रोल्पामा यसअघि तरकारीखेती गरे पनि ढुवानी र बजारीकरणको समस्याले दाङ आएको उनी बताउँछन् । नेपाल प्रहरीमा हुँदा घर्तीमगर विसं २०५८ असार २८ गते रोल्पाको होलेरीमा माओवादीको आक्रमणमा परेका थिए पूर्णबहादुर ।
तीन महिना माओवादीकै कब्जामै रहेको र रिहाइपछि घर परिवारलाई दुःख दिन थालेकाले सरकारी जागिर छोड्न बाध्य भएको उनले सुनाए । पूर्णबहादुरले जागिर छाडेपछि वैदेशिक रोजगारीमा पनि गए । त्यहाँ पनि सोचेअनुसारको कमाई नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंचका साथ पशुपालन व्यवसाय गरेको र आम्दानी पनि राम्रै भएको उनी बताउँछन् ।
‘बिहानैबाट भैंसीको स्याहारसुसार गरेर दूध बेच्न हिँड्छु’, उनले भने । उनले भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ । पूर्णबहादुरले मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आएका छन् । उनलाई घरपरिवारले पनि यसमा सहयोग गर्दै आएका छन् ।
पूर्णबहादुरले दुई बिघा भाडाको जग्गामा पशुपालन व्यवसाय गर्दै आएका छन् । ४२ वर्षीय पूर्णबहादुरको फार्ममा २० वटा गाई, भैँसी तिनका पाडापाडी छन् । उनले दैनिक एक सय लिटर दूध बेच्ने गरेका छन् ।
जसबाट मासिक एक लाख ४० हजार रुपैया आम्दानी गर्दै आएका छन् भने मासिक बचत ५०/६० हजार रुपैयाँ गर्न सफल भएको उनको भनाइ छ । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ ।
पूर्णबहादुरले गाईभैँसीका लागि आवश्यक घाँस आफैँ उत्पादन गर्छन् । तर किसानले उत्पादन गरेको वस्तुले सहजरुपमा बजार नपाउने समस्या भने कायम रहेको उनी बताउँछन् ।
सरकारी जागिर र वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका पूर्णबहादुर उदाहरण हुन् । सरकारीस्तरबाट पाउनुपर्ने सेवासुविधाका बारेमा वास्तविक किसानलाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ । कहीँकतैबाट सहयोग नपाएको हुँदा र उत्पादित वस्तुको बजार ग्यारेन्टी नहुँदा कतिपय पशुपालन फार्म किसानले बन्द गर्न बाध्य भएको बताए ।