अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन्।
मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अर्थमन्त्री महतले विभिन्न तथ्यांकले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए।
उनले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने दोहोर्याए। अर्थमन्त्री महतले देशभित्रै केही गर्न युवालाई पनि आह्वान गरे। नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरूले राखेर अघि बढनुपर्ने उनको भनाइ थियो।
देशमा धेरै गर्न बाँकी रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीलाई आग्रह गरे। उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्न पूर्व-पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेन विस्तार सरकारले तत्काल अघि बढाउने घोषणा गरे।
मन्त्री महतले भने, ‘आर्थिक तथ्यांकहरूले अब अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएका छन्। यहाँको हाइड्रो पावर, एग्री बिजनेस, कृषि व्यवसाय, पर्यटन र आईटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउने निश्चित छ। यहीँ अवसरहरू छन्। नेपालमा केही पनि छैन भन्ने किसिमले सोच्यो भने केही पनि देखिँदैन। देशभित्रै खुशीयाली सृजना गर्न सकिन्छ। यो देशमा धेरै गर्न बाँकी भएको हुनाले अवसर पनि यही देशमा छ। त्यो अवसरलाई युवा पिँढीले उपयोग गर्न पनि म अनुरोध गर्न चाहन्छु।’
त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धी पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिए।