म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्याएर खेल मैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेल मैदान बनाइएको हो ।
कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले रु आठ लाख पचास हजार खर्च गरेर खेल मैदान तयार पारिएको जानकारी दिए । 'पोखरेबगरवासीको भेलाको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेल मैदान तयार पारेका छौँ,' उनले भने, 'योसँगै खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई अभ्यास गर्न सहज भएको छ ।'
एक सय १२ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेल मैदानमा सेभेन ‘ए’ साइड फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथ्लेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार डोजर लगाएर सम्याइएको खेल मैदानको सतहमा माटो राखिएको छ भने स्टेजका लागि पर्खाल निर्माण गरिएको छ ।
उक्त खेल मैदानमा पुस ७ गतेदेखि सुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । खेल मैदान नहुँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता तथा अभ्यास हुने गरेको थियो । खेलकुद गतिविधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो ।
पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो । तीव्र रूपमा बस्ती विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेल मैदान निर्माण हुनसकेको थिएन । खेल मैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्याबिन पर्खाल बनाएर तटबन्ध गरिएको थियो । खेल मैदानको छेउमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पनि पूर्णता दिइएको अध्यक्ष खड्काले बताए ।
खेल मैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेल मैदान तयार गरेर उदाहरणीय काम गरेको बताए । खेल मैदानलाई थप व्यवस्थित गर्दै पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने उनको भनाइ थियो । रासस