सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। रुपन्देही र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु१च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
त्यस्तै, चितवन, भरतपुर महानगरपालिका-२९ भतेरी जंगलस्थित सडकमा लु८प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवलपरासी पश्चिम सुनवल नगरपालिका-८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङको गएराति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।