पछिल्लो २४ घण्टामा मात्रै विभिन्न सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। पर्सा, सिरहा, चितवन र बाजुरामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
पर्साको छिपहरमाई गाउँपालिका-३ झलमैयास्थित सडकमा ना७ख ९४९४ नम्बरको बसबाट लडेर त्यसै बसको टायरमा च्यापिएर बसमा सवार सोही स्थानका २२ वर्षीय अर्जुन यादवको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालक हाल फरार रहेका र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सिरहा, नवराजपुर गाउँपालिका-४ स्थित सडकमा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स९प १७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनाबाट स९प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका-२ मझौरा बस्ने ७३ वर्षीय बिल्टु यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ भने स्कुटर चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-१२ मिलन चोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको इलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका-१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यान चालक हालसम्म फरार रहेको र प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै, बाजुराको गौमुल गाउँपालिका-६ नर्सरीस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। घटमुना बजारदेखि मालिवनतर्फ जाँदै गरेको से१ज ९८९ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक खप्तडछेडेदह गाउँपालिका-६ बस्ने ४० वर्षीय देवेन्द्र नाथको घट्नास्थलमै मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार एकजनाको घटमुना आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उल्लिखित सम्पूर्ण दुर्घटनाका सम्बन्धमा अनुसन्धान कार्इ भइरहेको पनि प्रहरीले जनाएको छ।