तुलसीपुर उपमहानगर-५ पातुखोला बगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालय स्थानीयले मुठीदान गरेर चलाएका छन्। स्थानीय बासिन्दाको मुठीदान र मेघराज सरको मेहनतले विद्यालय नमुना बन्न सफल भएको हो।
२०५९ सालदेखि सञ्चालनमा आएको यो विद्यालयका शुरुदेखि नै प्रधानाध्यापक मेघराज घिमिरे छन्। विद्यालय स्थापना भएदेखि प्रअ घिमिरेले २ वर्षसम्म निःशुल्क पढाए। शुरुमा कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयसँग शिक्षकलाई तलब दिने पैसा थिएन।
अभिभावकहरूले साँझबिहान खाना पकाउने चामलबाट मुठीदान गरी त्यो चामल बेची तलब खुवाउने व्यवस्था गरेका थिए। त्यसैबाट प्रअ घिमिरेलाई पनि मासिक एक हजार तलब दिने व्यवस्था गरियो। उनले लामो समयसम्म त्यही एक हजार रुपैयाँमा पढाए।
अहिले उक्त विद्यालय नमुना विद्यालय बनेपछि आफूलाई धेरै खुशी र गर्व लागेको उनले बताए। उनले भने, ‘धेरै अवसर पनि आएका थिए। समाजमा केही गर्नुपर्छ भनेर शुरुमा मैले दुई वर्ष निःशुल्क पढाएँ। पछि अभिभावकहरूले मुठीदान गरी मासिक एक हजार तलबको व्यवस्था गर्नुभयो।’
त्यो वेला धेरै साथी विदेश पलायन भएको र उनीहरूले एक हजार तलब खाएर के हुन्छ भन्दै विदेश जान सुझाव दिएको बताए। शुरुका विद्यालयमा पढाउने शिक्षकहरूले पनि विस्तारै छाडेको उनको भनाइ छ। पैसा मात्र ठूलो नभई सेवाको भावना पनि राख्नुपर्छ भन्ने लागेपछि पढाउँदै आएको र अहिले नमुना स्कुल बनेपछि धेरै खुशी लागेको उनको भनाइ छ।
अभिभावकको सक्रियता र शिक्षकहरूको मेहनतले अहिले विद्यालय राम्रो बनेको उनले बताए। बगरमा रहेको विद्यालय त्यो पनि दैनिक ज्याला मजदुरी गर्ने परिवारका छोराछोरी पढ्ने भएको हुँदा शुरुमा निकै समस्या भएको बताए। पछि आफू विभिन्न संस्थामा जोडिदै गएपछि त्यहाँबाट सहयोग र स्थानीय सरकारले पनि सहयोग गर्न थालेपछि सहज भएको बताए।
उनले भने, ‘म पैसाका पछि कुदेको भए। आज यो विद्यालय यस्तो हुन सक्दैनथ्यो। सयौँ विद्यार्थीको भविष्य उज्ज्वल भएको छ र अभिभावकको मन जितेको छु। अहिले म खुशी छु।’
विद्यालयमा अहिले कक्षा ८ सम्म पढाइ हुँदै आएको छ। नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन हुने गरेको उनले बताए। विद्यालयमा अहिले साढे ४ सयभन्दा बढी विद्यार्थी पढ्छन्।
उनका अनुसार राज्यले सामुदायिक विद्यालयलाई सहयोग गरे पनि विभिन्न अभाव भइरहन्छन्। विद्यालयको भवन बनाउँदैमा सबै पूरा नहुने भन्दै उनले अहिलेको समयानुसारको शिक्षा विद्यार्थीलाई दिनुपर्ने समेत बताए। उनले आफ्नो विद्यालयमा विपन्न विद्यार्थी पढ्ने भएकाले उनीहरूलाई पाठ्यपुस्तक निःशुल्क दिइने भए पनि पोशाक, झोला जस्ता कुराको समस्या हुने बताए।
उनले भने, ‘हामीले विद्यालयको पोशाक र जुत्ता लगाएर आउनु भनेपछि अर्को दिन धेरै विद्यार्थी नै आउँदैनन्। उनीहरूलाई पोशाक, जुत्ता, झोला किन्न समेत समस्या छ। हामीलाई यस्ता कुरामा समस्या छ।’
२०५९ सालअघि यो क्षेत्रमा विभिन्न ठाउँबाट मानिस आएर बसेको र यहाँका बालबालिकालाई शिक्षा दिन तत्कालीन वडाध्यक्ष प्रेम योगी लगायतको सक्रियतामा विद्यालय सञ्चालनमा आएको थियो। उपमहानगरले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालयलाई लिने गरेको छ।
गाँस काटेर रकम जुटाएका थियौँ : विव्यस अध्यक्ष विक
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकका अनुसार विद्यालय वरपर रहेको बस्तीमा पातुखोलामा गिट्टी कुट्ने, ज्याला मजदुरी गर्ने विपन्न दलित जनसमुदाय बस्ने गरेका छन्। दलित समुदाय धेरै भएको हुँदा यहाँका बालबालिकाले पढ्ने अवस्था नभएपछि विभिन्न व्यक्तिको सक्रियतामा विद्यालय स्थापना भएको थियो।
उनले भने, ‘हामीले २०५९ सालमा विद्यालय बनाएका थियौँ‚ हावाहुरीले विद्यालय लडायो। एकातिर विद्यालय ढलेको र अर्कोतर्फ शिक्षकहरूलाई तलब खुवाउने पैसा नभएपछि साँझबिहान मुठीदान गरी पैसा जोहो गरेका थियौँ। यसरी स्थापना गरेको विद्यालय अहिले नमुना रूपमा चिनेपछि धेरै खुशी लागेको छ।’
बगरको विद्यालय अहिले यो अवस्थासम्म आउनुमा विद्यालयका शिक्षक, अभिभावक, विभिन्न संघसंस्था तथा राज्यको सहयोग रहेको उनले बताए।
अभिभावक पनि खुशी
अभिभावक दीपा परियारले आफ्ना छोराछोरीले यही स्कुलमा पढ्ने भन्दै निम्न आर्थिक भएका परिवारलाई राहत मिलेको बताइन्। उनले भनिन्, ‘यहाँ हामी सबैले दैनिक ज्याला मजदुरी गरी दैनिकी चलाउने गरेका छौँ। यो विद्यालय स्थापना भएकाले हामीलाई धेरै राम्रो भएको छ। निजी विद्यालयको भन्दा यहाँ राम्रो पढाइ हुन्छ। हामी खुशी छौँ। हाम्रा सन्तानले राम्रो शिक्षा पाएका छन्।’
यस्तै उनले विद्यालयमा सरकारले निःशुल्क शिक्षा दिए पनि आफूहरूलाई स्कुलको पोशाक र झोला किन्न समस्या भएको बताइन्। उनले भनिन्, ‘सरकारले हाम्रा छोराछोरीलाई किताब र छात्रवृत्ति दिइरहेको छ। जाडो समयमा न्यानो पोशाक किन्न पनि सक्दैनौँ। धेरै विद्यार्थीलाई समस्या छ। हामीले गिट्टी बालुवा कुटेर दैनिक चलाउँछौँ।’