सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले तमु गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को अवसरमा शुुभकामना दिएका छन् । ‘तमु ल्होसार’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका ल्होसार मनाउने समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन् ‘नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल हो । नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको छ । हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । ’
यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्नो रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा नेपालका तमु जातीमा नँया वर्षको आगमनको खुसीयालीस्वरुप विशेष उत्साह र उमङ्गताकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता रहेको प्रदेश प्रमुख परियारले शुभकामना सन्देशमा भनेका छन् । साथै उनले तमु जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपील समेत गरेका छन् ।