वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलि रहेका ताँजको गाउँपालिका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । मंगलबारदेखि ताँजकोट गाउँपालिकाका लगायतका बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनु भयो । इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो । अध्यक्ष जैसीले भन्नुभयो, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको काम समेत सहज हुने भएको छ ।”
गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । ताँजकोटका ५ वटै वडा कार्यालयमा फोरजी सहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि बताइएको छ ।
जनताका कामहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज हुने भएकाले ताँजकोट गाउँपालिका इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट सजिलो भएको अध्यक्ष जैसीको भनाइ छ ।
यसअघि ताँजकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्याबाट छुट्कार मिलेको छ । ताँजकोट गाउँपालिका अध्यक्ष जैसी निर्वाचित भए लगतै एक बर्षपछि उनको पहलमा ताँजकोट गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमीत प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताउनु भएको छ ।
टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको हो ।