तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो ।
माघे संक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ । हिन्दू धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।
रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रदालु भक्तजनको सहभागिता रहने गर्दछ ।
चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे संक्रान्ति मेला सुरू भएसँगै भक्तजनको भिड लाग्छ ।
यहाँ स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको विश्वास छ ।
यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।
रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठूलो भगवानको मूर्ति पनि रहेको छ ।
रुरुक्षेत्र गाउँपालिका, कृषि ज्ञानकेन्द्र, र स्थानीय क्लब, विभिन्न संघ संस्थाको आयोजनामा गरिने मेलामा विशेषगरि रुरुको गुड, कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामगि्रहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत राखिंदै आएको छ ।
मेलामा घरेलु उत्पादित सामग्री, कृषि उपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ ।
सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग, कालिगण्डकीमा र्याˆटिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानीय तिन जिल्लाका विभिन्न संस्कृति झल्कने नाचगान तथा विभिन्न परिकारहरु पनि मेलामा राखिएको छ ।
ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्तीसँगै एकादसी, साउने संक्रान्ती, असारे एकादसी, भदौ कृष्ण अष्ठमी, कार्तिक ठूला एकादसीलगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आज गर्ने प्रचलन छ ।
माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।