हुम्ला । सिचाई सुविधाको अभावले हुम्लाको ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेति गर्दै आएका छन । माघ महिना लागि सक्दा पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका छन । आकाशे पानीको भरमा बाली लगाउने किसानले समयमा पानी नपर्दा बाली लगाउन पाएका छैनन भने लगाएको बाली पनि नउम्रेको र कतिपय ठाउँमा उम्रिएको बालि समेत सुक्न थालेको छ ।
गत कार्तिकदेखी मंसिर मसान्तसम्म हिँउदेबाली लगाउने समयमा बाली लगाउने जमिनमा आत भएका कारण उम्रिएको बाली समेत यतिबेला हराउन थालेको छ । सोही समयदेखी परेको खडेरीका कारण लगाइएको बाली समेत सुक्न थालेपछि किसानहरु निरासा जनक भएका हुन । हिँउदेबाली लगाए लगत्तै पानी नपरेर खडेरी परेपछि किसनाहरुले लगाएको गहुँ, जौ, उवा, केराउ, मसुरो लगायतका बालीनालीको उत्पादनमा निकै ह्रास आएपछि जिल्लाका कृषक चिन्तित बनेका हुन् ।
किसानहरुले लगाएका बालीनालीसंंगै अहिलेको समय फलफूल र बेमौसमी तराकारी रोप्नका लागि खाडल बनाउनु पर्ने खाडलमा मल ब्यवस्थापन गर्ने समय भएपनि खडेरीका कारण प्रभावित भएको अदानचुली २ का कृषक कल बहादुर बुढाले बताउनु भएको छ । उहाँका अनुसार यो समय जिल्लामा बर्षा र हिमपात समेत नहुदा बाली लगाइएको जमिन समेत बाझो हुदै गएको छ । आफुले भेडा पाल्दै आएकोले बनजंगलमा चरि चरन गर्ने घाँस समेत हराउदै गएको बताउनु भएको छ ।
माघ महिना लाग्दासम्म पनि बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा आधा घटिसकेको बताउनु भएको छ । गत साल पनि हिउँदे बर्षा नहुँदा हिउँदेबाली उत्पादनमा निकै ह्रास आएको थियो भने यस बर्ष पनि बर्षा नहुँदा उत्पादनमा कमि आएर भोकमरीको संकट आउन सक्ने किसानहरुले बताउने गरेका छन ।
सिँचाइ सुविधा नभएका जिल्लाका उत्तरी तथा दक्षिणी भेगका स्थानमा प्रसस्तै बाली लगाए पनि हिउँदे बर्षा नहुँदा बाली सुक्न थालेको छ । कतिपय ठाउँमा सिँचाइका लागि प्रशस्तै पानी भएपनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ सुविधाको पहुँचमा कृषकहरु पुग्न सकेका नसेको बुझिएको छ । बर्षायममा लगाइएका बाली बाढी पहिरोले क्षेति गरेका कारण खासै उत्पादन नभएको र हिउँदमा खडेरीले लगाइएका बाली पनि सुक्न थालेपछि खाद्यान संकटको चिन्ता पैदा हुन सक्ने कृषकहरुको गुनासो रहेको छ ।
कृषि बिकाश कार्यालय हुम्लाको तथ्याङ्क अनुसार जिल्लाभर १० हजार ९२ हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइने गरिएको छ । उक्त क्षेत्रफलमा गत बर्ष ११ हजार ३७ मेट्रिक टन उत्पादन भएको कृषि बिकाश कार्यालय हुम्लाका प्रमुख धर्म बहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँका अनुसार हिउँदे बालि अन्त्रगत पर्ने उवाबालि भने ५ सय ३५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । त्यस्तै जौ ८ सय २ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ भने मसुरो ३ हजार २ सय २७ हेक्टर क्षेत्रफल जमिनमा लगाउने गरिएको बताउनु भएको छ ।