देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। तेह्रथुम,धादिङ, बारा, रुपन्देही र मोरङमा भएका दुर्घटनमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को१ख५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-१५ मेचिनगर बस्ने २३ वर्षीय सुगम चौधरी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका टिपरका चालकसमेत ३ जनालाई धरान घोपामा उपचारका लागि पठाइएको छ।
त्यस्तै, धादिङको खनियाबास गाउँपालिका-५ च्युल्वामा बा५ख ५९६३ नम्बरको आइचर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा आइचरमा सवार सोही गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका आइचर चालकसमेत ३ जनालाई उपचारको लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा ना६ख ८९३७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीलाई हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
रूपन्देही जिल्लाको मायादेवी गाउँपालिका-४ सेमरीमा लु१ख ६९६७ नम्बरको बसको ठक्करबाट भारत बिहार घर भई बेथरी जगदम्बा धागो कारखानामा काम गरी बस्ने रमेशकुमार साहकी छोरी ४ वर्षीय प्रियल कुमारी साहको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, मोरङ, सुन्दरहरैचा नगरपालिका-८ पाथिभरा मन्दिरनजिक सडकमा प्रदेश १-०१-००१च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६प २५२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।