सोचमा आएको परिवर्तन र उदार बन्दै गएको समाजका कारण गर्भपतन गराउने महिलाको संख्या बढे पनि सुरक्षितभन्दा असुरक्षित खालका गर्भपतन गर्ने गरेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा र विकास साझेदार संस्था आईपास नेपालले गरेको अध्ययनअनुसार नेपालमा हाल नेपालमा ५२ प्रतिशत असुरक्षित खालका गर्भपतन हुने गरेको पाइएको हो।
नेपालमा हाल वार्षिक ८ लाख ६२ हजार १९९ जना महिलाले गर्भधारण गर्ने गरेकोमा करिब आधा ५३ प्रतिशत जति गर्भ अनिच्छित रहने गरेको हुँदा गर्भपतन गराउने गर्छन्।
नेपालमा प्रजनन उमेरका ३३ प्रतिशत महिलाले मात्र आधुनिक गर्भनिरोधक साधन प्रयोग गर्छन्। त्यसैगरी परिवार नियोजनका साधनको आपूर्ति २४ प्रतिशत रहेको छ भने नेपालमा केवल ४३ प्रतिशत दम्पतीले मात्र आधुनिक गर्भनिरोधका साधन अपनाउँछन्।
यसैगरी प्रजनन उमेरका ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको थाहा छ। ४८ प्रतिशत महिलालाई मात्र सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध हुन्छ भन्ने थाहा छ।
नेपाल संविधान २०७२, जनस्वास्थ्य सेवा ऐन, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्ने कानुनी व्यवस्था छ। गर्भपतन गर्नका लागि व्यक्ति र संस्था दुवै सूचीकृत भएको हुनुपर्छ। हाडनाता तथा जबरजस्ती करणीबाट रहन गएको गर्भ पीडितको मन्जुरीमा २८ हप्तासम्म पतन गर्न मिल्ने कानुनी प्रावधान छ।
असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा असर मात्रै गर्ने नभएर भविष्यमा बच्चा जन्माउँदा प्रसवका वेला जटिलता हुने समेत उक्त अध्ययनमा देखाएको छ। हाल नेपालमा सरदर दैनिक २ जनाको मातृमृत्यु हुने गरेको छ। जसमा ५ प्रतिशत मातृ मृत्युको कारण गर्भपतनको जटिलताले हुने गरेको छ।
नेपालमा औषधि सेवन गरेर अथवा स्वास्थ्य तथा प्रविधिको माध्यमबाट गर्भपतन गर्ने गरिएको छ।
औषधिको माध्यमबाट गरिने गर्भपतनमा औषधि मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्म र अर्कोथरी औषधि योनिमार्गमा राख्नुपर्छ। बिना कुनै प्राविधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने हुँदा धेरै महिलाले यही तरिकाले गर्भपतन गराउने गर्दा स्वास्थ्य जटिलताको सामना गरिरहेका छन्।
औषधिद्वारा सुक्षित गर्भपतन गराउन पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) गर्नुपर्छ र गर्भपतन पूर्ण रूपले भयो वा भएन भनेर परीक्षण गर्नुपर्छ। पहिलेको गर्भ तथा प्रसूति सम्बन्धी समस्या, अन्य दीर्घ रोगहरू, विभिन्न स्वास्थ्य समस्याका लागि औषधि सेवन गरिरहेको अवस्था आदिका बारेमा जानकारी लिएर मात्रै गर्भपतन गराउनुपर्छ।
समय अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षणबिना गरिने गर्भपतन असुरक्षित हुन्छ। त्यसैले पैसा, समय र गोपनीयता बचाउन सूचीकृत स्वास्थ्य संस्थामा नगएर अनधिकृत व्यक्तिको भर पर्दा दुःख पाउने मात्र होइन, ज्यानै जान सक्छ।
निश्चित समयसम्म गर्भपतन गराउनु सुरक्षित भए पनि यो अन्तिम विकल्प मात्र हो। गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन र गर्भपतन रोज्नुपर्ने हुन्छ। त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ। यसका लागि परिवार नियोजनका साधन प्रयोग गर्नु उपयुक्त हुन्छ।
नेपालमा सुरक्षित गर्भपतन सेवा जम्मा १९.२ प्रतिशत स्वास्थ्य संस्थामा उपलब्ध छ। तर दिगो विकास लक्ष्यअनुरूप सन् २०३० मा सबैलाई सुरक्षित गर्भपतन उपलब्ध गराउने सरकारी लक्ष्य रहेको छ।