भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा नेपालगन्जस्थित नेपाल–भारत नाकामा सुरक्षा जाँच कडा बनाइएको छ।
माघ ८ गते सोमवार अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र माघ १२ गते (२६ जनवरी) मा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा दुवै देशका सुरक्षा निकायले सुरक्षा कडा पारेका हुन्।
पश्चिम नेपालको ठूलो नाका जमुनाहामा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षा निकाय एसएसबी दुवैले सुरक्षा जाँच कडा बनाएका छन्।
भोलि (सोमवार) अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलगायत सयौँ वरिष्ठ नेता र मन्त्रीहरूको सहभागिता रहने बताइएको छ।
सीमा नाकामा सुरक्षा कडा बनाउन निर्देशन आएकाले जाँच कडा पारिएको भारत रुपैडियाका थाना प्रमुख शमशेर सिंहले बताए। उनका अनुसार अहिले नाकामा जाँच अति कडा बनाइएको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती पनि गरिरहेका छन्।
नेपाली सुरक्षा अधिकारीले पनि भारतीय सुरक्षा अधिकारीको आग्रहमा नेपालतर्फ पनि सुरक्षा जाँच कडा पारिएको जनाएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान कार्यक्रम र गणतन्त्र दिवसका अवसरमा सुरक्षा व्यवस्था कडा बनाउन भारतीय पक्षले अनुरोध गरेकाले सुरक्षा निगरानीमा कडाइ गरिएको छ।
यसैबीच नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै थप निर्देशन दिन नेपाल-भारतका जिल्ला सुरक्षा प्रमुखले सीमा नाकाको निरीक्षण पनि गरेका छन्।
नेपाल-भारतका सीमावर्ती जिल्लाका प्रहरी र प्रशासन प्रमुखले नेपाल–भारत जमुनाहा र रुपैडिया नाकामा पुगेर सुरक्षा व्यवस्था निरीक्षण गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।
सीमा नाकाको निरीक्षण र अनुगमनमा बाँकेका प्रजिअ पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, भारत बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेड मोनिका रानी र प्रहरी प्रमुख एसपी वृन्दा शुक्लालगायत नाकाका सुरक्षा अधिकृतहरूको सहभागिता थियो।