सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा पुनः आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।
जिल्लाको तल्लो क्षेत्रमा भने सामान्य वर्षा भैरहेको छ हिमपातले जिल्लाको माथिल्लो क्षेत्र नाम्खा, सिमकोटका अधिकांस गाउँमा हिमपात भैरहेको छ भने खार्पुनाथ सर्केगाड र चंखेली गाउँपालिकाका अग्ला बस्तीहरुमा हिउँ आउन सुरु गरेको छ भने अदानचुली र ताँजाकोटका केही बस्तीहरुमा हिउ पर्न सुरु गरे पनि हिउँ थुप्रिन पाएको छैन अग्ला डाँडा कँडाहरुमा भने अहिले हिउँ थुप्रि सकेको छ ।
बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको छ ।
लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए । चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको छ। उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।
उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ । यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय नागरीकको भनाइ छ।
जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । यतिबेलासम्म एक–दुई उडान नेपालगञ्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो । आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । शनिबार तारा एयरले नेपालगञ्जबाट एक उडान गरेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए । अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।