काठमाडौं । पुर्वी नेपालको चर्चित शहर ईटहरीमा अत्याधुनिक सेवा सुविधासहितको ‘विराट मल्टी स्टुडियो’ सञ्चालनमा आउने भएको छ ।
विराट ग्रुपको लगानीमा ईटहरी उप महानगरपालिका-०३ मा ४० करोडको लगानिमा चलचित्र छायाङ्कन, टेलिभिजन कार्यक्रम उत्पादन तथा अन्तराष्ट्रिय स्तरका रियालिटी शो कार्यक्रमहरु एउटै ठाउँबाट निर्माण गर्न सकिने स्टुडियो बैशाख देखि सञ्चालनमा आउन लागेको हो। २० रोपनी क्षेत्रफलमा निर्माण हुने विराट मल्टी स्टुडियो नेपालकै पहिलो र सबै भन्दा ठुलो स्टुडियो हो।
भवन निर्माणको काम सम्पन्न भैसकेको र लाईटिङ र मल्टी प्रपोज अत्याधुनिक सुटिङ्ग सेट निर्माणको कार्य भैरहेको प्रवन्ध निर्देशक रमेश शाही ठकुरीले जानकारी दिए।
बहु उपयोगी स्टुडियो खोल्नुको कारण बारे यसका प्रवन्ध निर्देशक शाहीले भने, ‘नेपालमा अन्तराष्ट्रिय स्तरको स्टुडियो नभएको गुनासो धेरैको थियो । सोही गुनासोलाई मध्यनजर राखेर हामीले यो स्टुडियो सञ्चालनमा ल्याउने तयारी गरेका हौं ।’ नेपालकै सबै भन्दा ठुलो २० रोपनीमा र हाल सम्मकै सबैभन्दा धेरै लगानीमा निर्माण गरिएको बताए। स्टुडियोमा ‘इन्डोर सुटिङ’को लागि आवश्यक सबै सुबिधा उपलब्ध हुनेछन् भने भारतको मुम्बई र चीनबाट दक्ष सिनेम्याटोग्राफर, टेक्निसियन र मेकअप आर्टिष्टबाट काम हुने बताईएको छ।
अत्याधुनिक सुविधासम्पन्न भवनहरुमा उत्कृष्ट चलचित्र देखि विभिन्न टेलिश्रृखला र फ्रेन्चाईज रियालिटी शोहरुको छायाङ्कन गर्न सकिने शाहीले बताए । यस्तै नेपाल आईडल, नेपाल तारा, भ्वाईस अफ नेपाल लगायत मिस टिन, नेपाल सुन्दरी र मिष्टर ह्यान्डसम जस्ता कम्पिटिसन कार्यक्रमहरु पनि सञ्चालन र प्रशारण गर्न सकिने शाहीले बताए ।
काठमाडौं उपत्यका भन्दा निकै राम्रो, सबै प्रकारका सुविधायुक्त, अत्याधुनिक क्यामरा, साउण्ड सिष्टम र लाईटिङ्गको व्यवस्था भएको साथै भारतको सिक्किम, आसाम लगायतका क्षेत्रहरुसँग नजिक भएर काम गर्न सकिने भएकाले पनि ईटहरीमा उपयुक्त रहेको शाहीको भनाई छ ।
बहु उपयोगी स्टुडियोमा नेपालबाट निर्माण र छायाङ्कन हुने चलचित्र र कार्यक्रम अन्तराष्ट्रिय स्तरको हुने दाबी सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले गरेका छन् ।