हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै, अदानचुली गाउँपालिका–३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुना दायर गरेको अख्तियारले जनाएको छ । उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्तासम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी विगो मागदाबी माग दाबी गरेको छ ।