टीकापुर नगरपालिकामा १०० भन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन्। ती विद्युतीय मिलमा कामदार भने दक्ष छैनन्। कामदार पाउनसमेत समस्या हुने गरेको यहाँका मिल व्यवसायीको गुनासो छ।
कामदारले अनुभवका आधारमा काम गर्छन्। यसरी प्राविधिक ज्ञान नसिकेर काम गर्दा सुरक्षा जोखिम रहन्छ तर, पनि यहाँका कामदारले तालिम पाउन सकेको देखिँदैन।
२०५३ सालदेखि टीकापुरको सत्तीमा प्रभा राइस मिलका सञ्चालक वीरेन्द्र साहले व्यवसायीका समस्या धेरै रहेका बताए। ‘मिस्त्री सबै तालिम प्राप्त छैनन्, काम गर्दागर्दै अनुभव बटुलेकालाई काममा लगाउनुपर्छ’, उनले भने, ‘यिनै मिस्त्री पाउन पनि समस्या रहेको छ। पछिल्ला केही वर्षयता गाउँगाउँमा मिलको सङ्ख्या धेरै भएकाले काम कम पाइने समस्या छ। काम कम पाइने, करिब छ वर्षदेखि दररेट वृद्धि नभएका कारण हामी घाटामा छौँ।’
मिल बिग्रिएमा पाटपुर्जा महँगो पाइने, मर्मतमा समेत खर्चिलो रहेको मिल व्यवसायीको गुनासो छ। मिल व्यवसायी साह पालिकाले दररेट तोकिदिनुपर्ने, कामदारलाई तालिम दिनुपर्ने माग गरे। ‘मिस्त्रीका दक्षता र सुरक्षाका लागि तालिम आवश्यक छ। हामीले माग गरिरहेका छौँ’, उनले भने, ‘अहिले मिल सञ्चालन गर्न कठिन छ। जुन सञ्चालक आफैँले मिस्त्रीको काम गर्नुहुन्छ, उहाँको मिलमात्र अलि चलेको देखिन्छ, कामदार राखेर चलाउन निकै कठिन छ। आम्दानी खासै छैन।’
मिल व्यवसायी समिति टीकापुरका अध्यक्ष सुरत रावल न्यौपाने मिलमा काम गर्ने सबै कामदार तालिमप्राप्त नभई अनुभवका आधारमा काम गरिरहेका र मिल व्यवसायीका समस्यामा कतैबाट सहयोग नमिलेको बताउँछन्। ‘हामी संगठित भएका छौँ। संगठित भएर पनि केही गर्न सकेका छैनौँ’, उनले भने, ‘पाँच जति ठूला मिल छन्, उनीहरूले यहाँ उत्पादित चामल, गहुँको पिठो कुटानी, पिसानी गरेर अन्यन्त्र निर्यात पनि गरिरहेका छन्। अन्य मिल गाउँका किसानलाई राहत दिनका लागि सञ्चालनमा छन्।’
अध्यक्ष रावल मिल सञ्चालनका क्रममा दुर्घटना भएमा सञ्चालक आफैँले बेहोर्नु परिरहेको बताउँछन्। ‘यसअघि पनि मिलको पट्टामा बेरिने, चोटपटक लाग्नेजस्ता केही घटना भएका छन्’, उनले भने, ‘घटना भएमा मिल सञ्चालक आफैँले बेहोर्नुपर्ने समस्या छ।’
मिल व्यवसायीले सेलरमा धान कुटेको प्रतिक्विन्टल १५०, होलरमा प्रतिक्विन्टल १००, तोरी पेलानीको प्रतिकिलो १० र पिसानीको प्रतिकिलो पाँच रुपैयाँ शुल्क लिने गरेका छन्।