काठमाडौँ महानगरको वडा कार्यालयले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी पत्र पठाएसँगै व्यवसायीले विरोध प्रदर्शन शुरु गरेका हुन्। आइतवार उनीहरूले बुद्धनगरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले न्यून आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
सरकारले सरसफाइका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजेको आरोप लगाए। आइतवार कवाडी समुदायको जुलुस शंखमूलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौँ पुगेर विरोध सभामा परिणत भएको छ। संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानवअधिकार लगायत मूल्य र मान्यता विपरीत उचित व्यवस्थापनबिना महानगरले कवाड हटाउने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ।
आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको र्याली काठमाडौँ महानगरपालिकाले व्यवसायलाई राज्यको कानूनविपरीत दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए। महानगरले कुनै अध्ययन नगरी कवाडी पेशालाई गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको बताए।
उनले यथाशीघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रूपमा अघि बढाउने चेतावनी दिए। त्यस्तै आन्दोलनमा सहभागी सञ्जय साहले महानगर प्रमुख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए। मेयरले लाखौँ युवाको रोजगार खोस्ने अधिकार नरहेको उनको तर्क छ।
आन्दोलनमा सहभागीले अदालतको निर्णयको सम्मान गरौँ, अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गरौँ। कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानूनी शासन लागू गर, कवाडी एकता जिन्दावाद लगायतका प्लाकार्ड र नारा लगाई विरोध प्रदर्शन गरेका हुन्।