सुर्खेत उपत्यका नगर विकास समितिले घण्टा र एमाले पार्टी कार्यालय आसपासमा रहेका अस्थायी संरचना हटाउनका लागि अन्तिम पटक माइकिङ गर्ने भएकाे छ । वीरेन्द्रनगर नगरपालिका—६, गोदामलाइन तथा हटिया क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरु हटाउने समितिले गत माग १८ गते अन्तिम ३५ दिने सूचना जारी गरेकाे हाे ।
सूचनाको म्याद बुधवार सकिएसँगै नगरपालिकाले यहीँ फागुन २८ गते मंगलवारसम्म अस्थायी संरचना हटाउन माइकिङ गर्नेछ । याे अवधिमा विहान, दिउँसो र बेलुका संरचना हटाउन माइकिङ गरेर अन्तिम पटक जानकारी दिइन लागेकाे समितिका अध्यक्ष समेत रहेकी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख माेहनमाया ढकालले जानकारी दिइन् ।
उनकाअनुसार फागुन ३० गते बुधवार बिहान ११ बजेबाट सबै संरचना हटाइनेछ । सूचनामा समितिले वीरेन्द्रनगर नगरपालिका—६ गोदामक्षेत्र, साल्ट ट्रेडिङ्गदेखि उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखि पूर्व, उत्तरतर्फ घण्टाघरदेखि दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिमतर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउन लागेकाे हाे ।
समितिका अध्यक्ष एवं नगर प्रमुख ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खाली गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताइन् ।
पहिलो चरणमा माथि उल्लेखित स्थानहरुको अस्थायी संरचनाहरु खाली गराएलगत्तै दोस्रो चरण थालिने उनले जनाइन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको र यहाँ पार्किङको समस्या हुँदा सो समस्या समाधान गर्न समितिले सार्वजनिक जग्गा संरक्षण गर्न थालेको उनको भनाइ छ ।
नगरपालिकाको सहरी गुरुयोजना तयार हुन लागेको हुँदा त्यसका लागि सार्वजनिक जग्गा आवश्यक पर्ने भएकोले समितिले आफ्ना मातहतमा रहेका जग्गाहरु लिन लागेको उनले बताइन् ।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले तोकिएको समय अवधिभित्र अस्थायी संरचनाहरु हटाएर नगरपालिकालाई सहयोग गरिदिन आग्रह गरेका छन् । उनका अनुसार अव नगरपालिकाले आफ्नो स्वामित्वभित्र रहेका सवै सरकारी जग्गाहरुको खोजी गर्दै संरक्षण गर्न सुरु गरेको छ ।
नगर विकास समिति अनुसार ती स्थानमा ८१ वटा अस्थायी संरचनाहरु बनेका छन् । ती संरचनाहरु हटाइए करिव साढे दुई विगाह जग्गा समिति मातहत आउनेछ । सरोकारवाला पक्षहरुले पनि कानुनसम्म थालिएको कामलाई सहयोग गर्ने जनाएका छन् ।