नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले मानवसेवा आश्रममा एक लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संगठनले बेसहारा सडक आश्रित मानवहरुको संरक्षण गर्दै आएको आश्रमलाई एक लाख ११ हजार एक सय ११ रपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोष स्थानार्थ संकलित उक्त रकमको चेक नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले मानवसेवा आश्रमकी कर्णाली प्रदेश संयोजक संचिता गौतमलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरणमा बोल्दै अध्यक्ष भण्डारीले आश्रमको मानवता प्रवद्र्धनको अभियानमा थोरै भएपनि सहयोग पुग्ने हेतुले अक्षयकोषको स्थापना गरेको बताए । गत साल आश्रममा अक्षयकोष स्थापना गर्ने संगठनको घोषणा बमोजिम संगठनमा आवद्ध शिक्षकहरुको स्वेच्छिक सहयोगबाट मानवसेवाका लागि रकम संकलन गरिएको उनले बताए ।
अक्षयकोषबाट प्राप्त हुने मासिक ब्याजबाट आश्रम शाखा सुर्खेतमा आश्रित सडक मानवहरुको पालनपोषणमा थोरै भएपनि टेवा पुगोस भन्ने हेतुले अभियानको थालनि गरिएको भण्डारीको भनाई थियो ।हाल आश्रममा कर्णालीका विभिन्न जिल्लाका ८९ जना साहाराविहन मानवहरुले आश्रय लिइरहेका छन् । यस्तै, अक्षयकोष स्थापना पूर्व ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे महिला विभागले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संविधानमा रहेको महिलामाथिको विभेद अन्त्य हुनुपर्ने बताइन ।
पछिल्लो समय राजनीतिक दलहरुमा मौलाउदै गएको गठवन्धन प्रवृत्तिका कारण महिलाहरु राजनीतिक अवसरबाट बञ्चित हुनु परेको उनको भनाई थियो । ‘हाम्रो संविधानले हामी माथि अझै पनि विभेद गरिरहेको छ, यस्तो खालको विभेद परिवर्तन हुन जरुरी छ,’ उनले भनिन्, ‘राज्यले अझै पनि छोरीलाई छोरा सरह अंश दिन सकेको छैन, हामी कहाँ महिला सम्बन्धि कानून छन्, तर ति प्रयाप्त छैनन्, भएका पनि प्रभावकारी कार्यान्वयन नहुँदा महिलाले विभेद खेप्नु परेको छ ।’
राज्य महिलामैत्री भएमात्रै अधिकार प्राप्त हुने उल्लेख गर्दै यसको प्राप्तीमा राज्यलाई झक्क्याउन पछि पर्न नहुने उनको भनाई थियो । राजनीतिक दलहरुले महिलालाई अवसर दिन हिच्किच्याउने परिपाटीको अन्त्य नीति निर्माणको तहमा रहेकाहरुले भएका कानूनलाई थप प्रभावकारी बनाउँदै आवश्यक थप कानुन निर्माण ध्यान दिनुपर्ने ढकालले बताइन । पुरुष मात्रै होइन महिला पनि संक्षम छन् भन्ने मानसिकताबाट आफुलाई बाहिर निकालेर प्राप्त जिम्मेवारी पूरा गरेर समाजमा स्थापित हुनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने ढकालको सुझाव थियो ।