सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ ।
स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै पटक–पटक चासो व्यक्त गरेपछि मन्त्रालयले यस्तो छलफल गरेको हो । मंगलबारको छलफलमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेको र हेल्मेट गुणस्तर पनि हेर्नुपर्ने बताएका थिए । अहिले चालकले प्रयोग गरिरहेका हेल्मेट गुणस्तरीय नहुँदा दुर्घटनामा ज्यान नजोगिने समस्या देखिएको उनको भनाइ थियो ।
पछिल्लो समयममा भियतनाम जस्ता देशले यस्तो निर्णय लागु गरेर मोटरसाइकल दुर्घटनाबट हुने मृत्युदर धेरै घटाएका छन्, त्यसैलाई ध्यानमा राखेर डब्ल्यूएचओले यसमा चासो राखेको हो । मन्त्रालयका एक अधिकारीका अनुसार डब्ल्यूएचओले यस्तो नियम लागु गर्न सरकारसँग वकालत गरिरहेको छ ।
‘नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा सवारी दुर्घटनाबाट हुने मृत्युदर घटाउने प्रतिवद्धता गरेको छ, त्यसको अनुगमन डब्ल्ययूएचओले गरिहरेको छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उसको चासोका आधारमा छलफल थालेका हौं, तर, यो नियम सबैलाई बुझाएर लागु गर्न सकेमा दुर्घटनाबाट मृत्यु वा गम्भीर घाइते हुने दर धेरै घट्छ ।’
डब्ल्यूएचओको दबाबमा सरकारले तत्कालै यस्तो नियम बाध्यकारी बनाउँछ कि बनाउँदैन भन्ने आम चासो छ । ‘दोहोरो हेल्मेट’को नियम लागु गर्न तयारी थालेको सरकारसँग पछाडि बस्ने यात्रुले हेल्मेट नलगाउँदा दुर्घटनामा कति मानवीय क्षति भयो भन्ने यकिन तथ्यांक पनि छैन ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीका अनुसार कुल सवारी दुर्घटनामध्ये करिब ६९ प्रतिशत मोटरसाइल र स्कुटरकै हुने एक अध्ययनले देखाएको छ । उनका अनुसार मोटरसाइकल दुर्घटनामा ज्यान जानेको संख्या पनि सानो छैन ।
यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल दुर्घटनामा धेरैजसो २० देखि ३५ वर्षसम्मका युवाहरुले ज्यान गुमाइरहेका छन् । बढ्दो मोटरसाइकल दुर्घटनाले हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्न आवश्यक रहेको विभागको निष्कर्ष छ ।
दुई पांग्रे सवारीको दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाउन भन्दै सरकारले यस्तो नियम ल्याउन गृहकार्य गरेको पहिलोपटक होइन । पछाडि बस्ने यात्रुलाई पनि हेलमेट लगाउन अनिवार्य गर्नुपर्नेबारे यसअघि पनि पटक–पटक छलफल भएका छन् ।
तर, यस्ता छलफल सुरु हुनासाथ विरोधको आवाजहरु उठ्छन् । धेरैले त सीमित हेल्मेट व्यापारीको स्वार्थमा यस्तो नीतिहरु बनाउन खोजिएको आरोपसम्म लगाउने गरेका छन् ।
कानुनअनुसार त पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनै पर्ने नियम छ । तर, कार्यान्वयन गर्न खोज्दा उत्पन्न हुने विवादका कारण स्थगित हुँदै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा लेखिएको छ, ‘दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’ तर, ट्राफिक प्रहरीले चालकले हेल्मेट लगाउनै पर्ने गरी कडाइ गरेको छ । जरिवाना नै तिर्नुपर्ने भएकाले यो नियम बाध्यकारी भइसकेको छ ।
तर, पछाडि बस्ने यात्रुका यस्तो नियम लागु गर्न सरकारले आँट देखाएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे कानुनमा भएको व्यवस्था लागु गर्न छलफल सुरु भएको बताउँछन् । तर, यस्तो नियम लागु गर्नुअघि जनताले मसहुस गर्न सक्ने अप्ठेरा पक्षलाई विचार गरेर निर्णय लिइने उनले बताए ।
‘जनतालाई आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन प्रेरित गर्न हाम्रो प्रयास रहन्छ,’ उनले भने,‘यसअघि पनि यस्तो नियम लागु गर्ने प्रयास गर्दा नसकेको कुरालाई ध्यान दिएर काम गर्छौं ।’
पटक–पटक असफल प्रयास
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे सरोकारवालासँग गरेको छलफलमा पनि विगतमा यो नियम लागु गर्ने प्रयासमा आएको उल्झनलाई विज्ञहरुले स्मरण गरेका थिए ।
झण्डै २० वर्ष अगाडि पनि बाइकपछि बस्नेहरुले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा विवाद भएपछि बीचमै रोकिएको थियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा स्वास्थ्यमन्त्री बनेका डा. उपेन्द्र देवकोटाले यात्रुको जीवन जोगाउनु पर्ने भन्दै यसका लागि पहल लिएका थिए । तर, हेल्मेट बिकाउन खोजिएको आरोप लागेपछि सरकार यो नियममा टिक्न सकेन ।
त्यसपछि पनि विभिन्न समयमा ट्राफिक प्रहरीले यसबारे छलफल गरेपनि विवाद चर्किने र आर्थिक चलखेलको आरोप लाग्ने अवस्था देमिनासाथ पछाडि हट्ने गरेको थियो । जेठ, २०७६मा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियम लगाउन छलफल गरेको थियो । तर, सुरुमै विवाद भएपछि महाशाखा पछि हट्नुपर्यो ।
नेपालमा झण्डै ४० लाख भन्दा बढी मोटरसाइकहरु चालु हालतमा रहेको अनुमान छ । यसता मोटरसाइकलमा यात्रु गर्नेहरुलाई हेल्मेट अनिवार्य गर्ने हो भो त्यति नै संख्यामा थप हेल्मेट खरिद–विक्री हुने अवस्था छ । अहिलेको बजार मूल्यअनुसार त्यो करोडौंको हुने भएकाले पनि धेरैले यस्तो नियमलाई शंकाको दृष्टिले हेर्ने गरेका छन् ।
त्यसमाथि बाइक चलाउने २ वटा हेल्मेट बोक्न पनि नसक्ने र बाइक पछाडि बसरेर यात्रा व्यक्तिले सँधै हेल्मेट बोकेर हिँड्न व्यवहारिक नहुने भएकाले यो नियमको प्रशंगलाई जनताले पहिलो दृष्टिमै अस्वीकार गर्ने गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखका पूर्वप्रमुख तथा पूर्व प्रहरी नायब महानिरीक्षक केशब अधिकारी सरकार परिवर्तन हुनासाथ उठ्ने गरेको यस्तो बहसले आशंका जन्माउने गरेको बताउँछन् ।
‘म २० महिना ट्राफिक प्रहरीमा रहँदा २ पटक यस्तो प्रशंग आयो, मैले अस्वीकार नै गरेँ,’ उनी भन्छन्, ‘यो संवेदनशील र आवश्यक विषय हो, तर बेला–बेलामा उठ्ने प्रशंगहरु हेल्मेट बिकाएर कमिसन केन्द्रित लिन केन्द्रित छैन भन्न सकिन्न ।’
पछाडि बस्नेहरुलाई हेल्मेट अनिवार्य गर्नुभन्दा पहिले यसबारे पर्याप्त जनचेतना नै जगाउनुपर्ने उनको भनाइ छ । व्यक्ति स्वयमले हेल्मेट आफ्नो सुरक्षाका लागि हो भन्ने महसुस नगरेसम्म ट्राफिक प्रहरीको अघि पर्दा हेल्मेट लगाउने र अन्यत्र खोलेर कुद्ने संस्कृति रहिरहने उनी बताउँछन् ।
‘बरु विद्यालय तहमै हेल्मेटसहित सवारीको सुरक्षा पक्षको महत्वबारे जानकारी दिने गरी पाठ्यक्रम राखौं, मान्छेमा चेतना जागृत नभएसम्म यस्तो नियमले नतिजा दिंदैनन्,’ उनी भन्छन्, ‘सरकारले गर्नुपर्ने काम नगरी पटक–पटक हेल्मेट अनिवार्य गर्ने कुरा विगतदेखि नै विचौलियाबाट पे्ररित चलखेलबाट हुने गरेको छ ।’
नेपालमा विपद्बाट भन्दा बढी ज्यान सवारी दुर्घटनाबाट जाने गरेको भन्दै उनले दुर्घटनाको महामारी रोक्ने खालका नीतिहरु आवश्यक रहेको बताए । सकेसम्म दुर्घटना नै हुन नदिने गरी पूर्वाधार र जनचेतना बढाउने कुरालाई प्राथमिकतमाा राखेर दुर्घटनामा परे पनि ज्यान जोगाउने गरी नीतिहरु बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने पूर्व डीआईजी अधिकारीको मत छ ।
‘२०४९मा काठमाडौं उपत्यकामा ७ हजार ७ सय सवारी रहेकोबोल आउको यातायात तथा सवारी व्यवस्था ऐनबाटै अहिलेसम्म काम चलाइएको छ,’ उनी भन्छन्, ‘अहिले उपत्यकाका १८ लाख सवारी पुगिसके, काठमाडौमा बाइकमात्रै १४ लाख नाघेका छन् । त्यसैले यातायात सुरक्षाका नीतिहरु नियन्त्रणात्मक मात्रै हैन, चेतनास्तर बढाउनेतर्फ पनि केन्द्रित हुनपर्छ ।’
@onlinekhabar