कुनैबेला गरिबको खाना भनेर चिनिने चिनोको चामल हाल गरिबको भान्सामा पाक्नै छाडेको छ । उत्पादकबाहेक अन्य सामान्य परिवारले यो चामल खरिद गरेर खान मुस्कि बनेपछि चिनोको भात धनिको भान्सामा मात्रै पाक्न थालेको हो ।चिनो माथिल्लो कर्णालीमा फल्ने लोपोन्मुख खाद्यबाली हो । कुनैबेला अनिकाल परेपछि जुम्ला, हुम्ला, कालिकोटलगाएत माथिल्लो कर्णालीका नागरिकले भोक टार्न यही चिनोको चामल खाने गर्थे । ‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ । यसको अर्थ हुन्छ, किनेर धानको भात खाने क्षमता नभएकाले मात्र चिनोको चामल प्रयोग गर्नु ।
केही बर्षअघिसम्म सम्पन्न परिवारले चिनोको चामल खेतलालाई ज्यालास्वरूप पनि दिन्थे । तर अहिले यही चामल एकाएक सम्पन्न परिवारको प्रमुख रोजाइमा परेको छ । चिनोको भात मन नपराउनेले पनि अहिले खोजी खोजी खान थालेका छन् । गरिबको भान्सामा पाक्दै आएको चिनोको महत्व बुझेपछि हाल यसको मागसँगै मुल्य पनि महंगिएको हो ।
कुनैबेला सित्तैमा दिने चिनोको चामलको बजार मूल्य अहिले प्रतिकिलो तीन सय रुपैयाँभन्दा माथि छ । जबकी सेतो मन्सुली चामलको मूल्य प्रतिकिलो स्तर हेरेर ९० रुपैयाँ बढी पर्दैन । माथिल्लो कर्णालीका जिल्लामा पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख पनि गर्नुपर्दैन । तर यसको खेती घट्दो क्रममा छ ।
खिर लगाएतका परिकार खान यो चामल निकै स्वादिष्ट मानिन्छ । यसको महत्व बुझ्दै गएपछि चिनोको मूल्य र माग एक्कासी आकासिएको हो । ‘पहिले पहिले भान्सामा यो भात पाक्दा कसैले थाहा पाइहाले लाज हुन्छ कि रु भन्दै चनाखो हुनुपर्ने अवस्था थियो’ जुम्ला तातोपानीका गौरीसंकर गौतमले भने, ‘तर हाल चिनोको चामल किन्न नाक खुम्च्याउनुपर्ने अवस्था छैन । फुर्तीका साथ खोजी खोजी पानुपर्ने अवस्था छ ।’
कर्णालीमा घुम्न आउने पर्यटकले समेत पछिल्लो समय चिनोको परिकार निकै रूचाउन थालेका छन् । तर मागअनुसार चिनो उत्पादन हुन नसकेको कृषि विकास कार्यालय जुम्लाका कृषि विज्ञ बालकराम देवकोटा बताउँछन् । उहाँका अनुसार दुई दशक अघिसम्म कर्णालीका नागरिकले जौ र कोदोपछि सबैभन्दा धेरै चिनो खेती नै गर्थे । तर उपभोग हुनछाडेपछि विस्तारै खेती पनि छाड्दै गएका थिए ।
‘हाल बजारमा माग बढी र उत्पादन कम हुँदा फेरी किसानहरु चिनो खेतीतर्फ आकर्षित भएका छन्’ उहाँले भन्नुभयो, ‘कृषि कार्यालय पनि उत्पादन बृद्धिसँगै बाली संरक्षणमा लागेको छ ।’
चिनोको भातभन्दा खिर, केकलगायत परिकार निकै मिठो हुने गरेको उपभोक्ता बताउँछन् । जीवनयापनमा सन्तुलन नमिल्दा अधिकांश सहरिया सुगर रोगले पनि पीडित छन् । बिना औषधि सुगर निको पार्ने सजिलो उपाय चिनो सेवन नै रहेको विज्ञ बताउँछन् । परिकार मिठो हुने र स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग बढेको हो ।
यस्तै चिनोको सेवनले स्मरण शक्ति वृद्धि गर्ने, उच्च रक्तचाप घटाउने, हड्डी बलियो बनाउन मद्दत गर्छ । पछिल्लो समय सडक सञ्जालको पहुँच भएसँगै कर्णालीका रैथाने उत्पादनले बजार पाएको छ । वीरेन्द्रनगरमा बसेर लामो समयदेखि अर्गानिक वस्तु बेच्दै आएनुभएका जुम्लाका व्यापारी मानबहादुर रावतले बजार माग अनुसार चिनो पुर्याउन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले पहिले हामीजस्ता विपन्नले मात्रै चिनोको भात खान्थ्यौं, त्यही पनि पाहुना आएका बेला इज्जत जाने डरले सेतो चामल किन्नु बाध्यता थियो । तर अहिले चिनोको भात खान विशेष दिन कुनुपर्छ ।’
केहि बर्षपहिले समाजका ठूलाबडाले आफ्नो घरमा उत्पादन भएको चिनोको चामल गरिबलाई दिने र आफूले बजारको सेतो चामल किनेर खाने प्रवृत्ति थियो । जसले गर्दा केही वर्ष चिनो खेती लोप नै हुने अवस्थामा पुगेको थियो । हाल जुम्ला भित्रिने अधिकांश पर्यटकको प्रमुख खाना चिनो नै हुने गरेको होटल व्यवसायी नोर्बु लामा बताउँनुहुन्छ ।
प्याकेजिङ र लेबलिङपछि पर्यटकका माध्यमबाट हाल स्वदेश तथा विदेशमा पनि चिनोको चामल पुगेको चन्दननाथ सहकारी संस्थाद्वारा संचालित सुर्खेतमा रहेको अर्गानिक मिनी मार्केटले जनाएको छ । केहि बर्षअघि मेडिकल व्यवसायी दुर्गा प्रसाँइको भान्सामा पाकेको जुम्ली मार्सी चामलको भात तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डले खाएर फोटो सार्वजनिक गरेपछि जुम्ली मार्सीको ब्रान्ड बनेको थियो ।
तर मार्सीभन्दा प्रतिकिलोमा झन्डै एक सय रुपैयाँ बढी छ चिनोको मूल्य । यसको अँझै प्रचार गर्नसके चिनोको उत्पादन र किसानको आम्दानीमा वृद्धि हुने देखिन्छ । भने स्वयं कर्णालीका नागरिक पनि आयातित सेतो चामल किन्नुपर्ने बाध्यताबाट मुक्त हुनसक्छन् ।
विगत चार, पाँच बर्षयता अर्गानिक उत्पादन तथा परिकारको माग अत्यधिक बढ्न थालेको अर्गानीक मिनी मार्केट जुम्लाका संचालक ऋषिराम पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार पर्यटकहरुलाई चिनो र मार्सी चामल लगाएतका वस्तु पुर्याउन नै धौ धौ भएको छ ।