जिल्लाको उत्तर–पश्चिमहुँदै कर्णाली नदी दक्षिणतर्फ बग्छ । त्यहीँ नदीसँग मिलन हुन्छ सुर्खेतको उत्तर–पूर्वबाट मध्यभागहुँदै पश्चिम बगिरहेको भेरी नदीको । यी दुई नदीको मिलन हुने ठाउँ हो, चौकुने गाउँपालिकाको घाटगाउँ ।
आन्तरिक र वाह्य पर्यटकलाई घाटगाउँमै पु¥याएर प्रयाप्त लाभ लिन सकिने यो ठाउँ ओझेलमा छ । प्रायः नेपालीहरु नेपालकै भूमीबाट बगेको नदीलाई पवित्र नठानेर तिर्थ गर्न भारतका काँशी, गया, बनारास पुग्ने गर्छन् । तर आफ्नै भूमीबाट गएको नदीहरुलाई धार्मिक रुपमा विकास गर्न नसक्दा महत्वहिन बनिरहेका छन् ।
‘नजिकको तिर्थ हेला जस्तै बनेको छ कर्णाली र भेरी नदीको दोभान,’ भागवत कथा बाचिका राधिका दासी भन्छिन्, ‘आखिर यहीँ नदी भारतको बनारस पुगेपछि महत्व हुने तर कैलाश मानसरोवरबाट बगेर आएको पवित्र नदी कर्णाली नेपालीका लागि ओझेलमा हुनु दुःखद् पक्ष हो । यसको प्रचार प्रसार गर्नु जरुरी छ ।’
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिममा पर्ने कर्णाली र भेरी नदीको दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हाल घाटगाउँमा द्विपेश्वर मन्दिर निर्माण गरिएको छ ।
अझै व्यवस्थित बनाउन त्यहाँसम्म पुग्ने सडकको सुधारसँगै व्यवस्थित भौतिक संरचना हुन आवश्यक रहेको दासी बताउछिन् । ‘अथाह सम्भावना भएपनि राज्यले पहिचान गर्न नसक्दा नेपालका कयौं नदीहरु ओझेलमा छन्,’ दासी थप्छिन्, ‘स्वच्छ कलकल बग्ने यी नदीहरुबाट आन्तरिक मात्रै हैन् बाह्य पर्यटनका माध्यमबाट मनग्य आम्दानी लिन सकिने भएकाले योजनागत रणनीति बनाएर विकासमा सबै एकमत हुनुपर्छ ।’
घाटगाउँमा गत फागुनमा पाँच दिन धार्मिक पर्यटकीय हव बनाउन उदेश्यले नदीको दोभान नजिकै रहेको द्विपेश्वर मन्दिरमा धार्मिक पर्यटन महामहोत्सवको आयोजना गरिएको छ ।
हनुमान र शिवको मुर्ति स्थापना, वृद्धाश्रम तथा मन्दिर निर्माणसँगै दोभानको प्रचारप्रसार गर्नु महोत्सवको मुख्य उदेश्य थियो । दुवै नदीको मिलन क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयले प्रयास थाल्दा सरकारले खासै लगानी गर्न सकेको छैन् ।
‘हामी पाप पखाल्न र तिर्थ गर्न भारतको गया, बनारस, काँशी जान्छौं । तर आफ्नै भूमीबाट बगेका धार्मिक नदीहरुको उजागर गर्न नसक्नु दुःखद पक्ष हो,’ महायज्ञ मुल आयोजक समितिका अध्यक्ष रमेश खनाल भन्छन्, ‘स्थानीय स्तरबाटै भएपनि कम्तिमा दोभानको प्रचारप्रसार किन नगर्ने भनेर महायज्ञ लगाएको हौं ।’
धार्मिक र पर्यटकीय रुपमा प्रख्यात पश्चिम क्षेत्रलाई थप प्रचारप्रसार गर्न भेरी र कर्णाली नदीको दोभानमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्न पञ्चपुरी नगरपालिकाले पहल गरेको छ । दोधानमा बन्ने पुलले कैलालीको महोन्याल गाउँपालिकाको सुगरखाल, पञ्चपुरीको तातापानी र चौकुने गाउँपालिकाको घाटगाउँ जोड्नेछ ।
पुल निर्माण भएमा दोभानमा स्नान गरेपछि पञ्चपुरी क्षेत्रका धार्मिक क्षेत्रको अवलोकनसँगै दैलेखको पञ्चकोशीहुँदै जुम्लासम्म पुग्न सहजताका लागि सडकलाई व्यवस्थित गर्ने रणनीति बनाएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारी बताउँछन् । उनले पुल निर्माणका लागि यो आर्थिक वर्षमा सम्भाव्यताका लागि पहल भइरहेको उल्लेख गरे ।