गत साउन महिनादेखि यता करीव ६ महिनाको अवधिमा हुम्लाका तीन जना सुत्केरी महिलाहरुलाई हेलिकप्टर मार्फत जिल्ला बाहिर उद्धार गरेको छ ।
आर्थिक वर्षको साउनदेखि हालसम्म हुम्लाका सात वटै गाउँपालिका गरेर जम्मा तीन जना महिलाहरुलाई राष्ट्रपति महिला उत्थान अन्तरगतको कार्यक्रम मार्फत जिल्ला बाहिर उद्धार गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।सिनियर अनमी बोहराका अनुसार हुम्लाको अदानचुलीमा एक, चंखेलीमा एक र ताँजाकोट गाउँपालिकाकी एक जना गरि जम्मा तीन जनालाई जिल्ला बाहिर प्रादेशिक अस्पताल विरन्द्रनगर सुर्खेतमा हवाई उद्धार गरिएको हो ।
जिल्ला बाहिर उद्धार गरिएकी सुत्केरीहरुको अवस्था हाल समान्य रहेको अनमी बोहराको भनाई रहेको छ । तर सर्केगाड गाउँपालिका वडा नम्वर ६ रोडिकोटकी एक जना २० वर्षीय सुत्केरी महिलाको भने उद्धार हुन नसकेरै मृत्यु भएको थियो ।
उनको हेलिबाट उद्धार गर्ने भन्दै जिल्ला प्रशासन, जिल्ला अस्पताल र सर्केगाड गाउँपालिका कार्यालयले पहलकदमी गर्दा पनि मौषम गडबढिका कारण समयमै हेलिकप्टर उडान हुन नसकेपछि सुत्केरी महिलाको मृत्यु भएको थियो ।
६ महिनाको अवधिमा मात्रै कर्णालीका दशवटा जिल्ला मध्ये हुम्लाबाट तीन, डोल्पाबाट चार, मुगुबाट दुई, जुम्लाबाट एक, कालीकोटबाट तिन, जाजरकोटबाट पाँच, दैलेखबाट छ, रुकुमबाट तिन जना सुत्केरीको हेलिकप्टरबाटै उद्धार भएको थियो ।