हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत घरघरमै पुगेर जेष्ठ नागरिकहरुको निःशुल्क उपचार शुरु गरेको छ ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका गम्भीर रोग लागि ओछ्यानमा थला परेका, शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताउनुभयो ।
भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिएको संयोजक ढकालले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित वस्ति,खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना जेष्ठ नागरीकलाई स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरु घरमै आएर स्वस्थ्य परीक्षण र औषधि समेत वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र श्याङकुले बताउनुभयो ।
गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गरिने भएको हो । रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच समेत चेकजाँच गरिएको हो । यस कार्यक्रम क्रममा विरामीहरुको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताउनुभयो ।
घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गरेका हुन् । पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । आज वडा नम्बर १ मा रहेका जेष्ठनागरीकको घरघरमै पुगेर स्वास्थ्य परीक्षण भइरहेको उहाँले बताउनुभयो । वडा १ देखि ५ सम्मका सबै वस्तिमा पुगेर जेष्ठ नागरीकको उपचार गरिने भएको छ ।