सदभावकोे पर्व होलीलाई मर्यादित र शान्तिपूर्ण रुपमा मनाउन सुर्खेत प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरेको छ । फागु पुर्णिमा अर्थात् होलीमा शान्ति सुरक्षामा खलवल नपुगोस भन्ने उदेश्यले अन्य समयकोभन्दा बढी सुरक्षाकर्मी परिचालनसँगै चेकिङ बढाउन लागेको हो ।सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउनको लागि राजधानीको नगरपालिका वीरेन्द्रनगरसहित जिल्लाका व्यापारिक स्थानहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार अन्य समयभन्दा होलीको दिन थप ३३८ जना प्रहरी खटाउन लागिएको छ ।
प्रहरी निरीक्षकको कमाण्डमा २५÷२५ जनाको कमाण्ड थप प्रहरी र दुई ओटा मोबाइल गाडी २४ सैं घण्टा परिचालन हुनेगरी व्यवस्था मिलाइएको एसपी खड्काले बताए । ‘५० जनाको रेस्कु टिम र प्रहरी गस्तीलाई पनि विशेष प्राथमिकता साथ खटाइएको छ,’ खड्काले भने, ‘क्रस चेकिङ र भीडभाड तथा कार्यक्रम स्थलमा पनि उत्तिकै संख्यामा प्रहरी खाटाइनेछ ।’
वीरेन्द्रनगरका मुख्य १२ स्थानमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लापरवाही पूर्वक सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिन चेकिङ गरिनेछ । चेकिङ गरिने स्थानहरुमा मुख्य चोक र आवश्यकताअनुसार क्रस चेकिङको व्यवस्था मिलाइएको खड्का बताउँछन् ।
अहिले भइरहेका कन्ट्रोल रुम भेहिकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गरिने र मोबाइल भ्यानहरू अरू रिजर्भहरू सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएकाे उनले बताए ।
‘होली सभ्य र भव्य रुपमा मनाउनुहोस्,’ एसपी खड्काले भने, ‘होलीको आफ्नै महत्व र विशेषता छन्, कसैको ईच्छा विपरित रंग नदल्नुहाृेस् । सबैले सभ्य नागरिक भएर यस्ता पर्वहरु व्यवस्थित रुपमा मनाउनु सबै सुर्खेतवासीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’