सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका पति हुकुमबहादुर शाहीको खोजीमा बर्दिया ठाकुरबाबा नगरपालिका-८, सुतैयाकी जयन्ती शाहीले २२ वर्ष बिताइन् । सयौँ जुलुस, सभा र गोष्ठीमा पुगिन् । तर, उनका पतिको कुनै अत्तोपत्तो लागेन । न राज्य बोल्यो, न त तत्कालीन विद्रोहीले नै उनलाई न्याय दिलायो ।लास नभेटिँदासम्म आस हुने नै भयो । त्यसैले जयन्तीलाई अझै पनि बेपत्ता पति कुनै न कुनै दिन फर्केर आउलान् भन्ने आशा थियो । तर, गाउँ, समाज र परिवारले हुकुमबहादुर फर्किने आस मारिसकेको थियो । सोही कारण जयन्तीलाई काजकिरिया गर्न दबाब पर्यो । अन्ततः उनी गह्रौ मन बनाएर १४ चैत बुधबार बेपत्ता पतिको कुशको शव बनाएर अन्त्येष्टि गर्न तयार भइन् ।
बेपत्ता हुकुमबहादुरको धार्मिक विधि अनुसार बुधबार अन्त्येष्टि गरिएको छ । कुशको शवलाई परिवार र छरछिमेकीले घाटसम्म पुर्याए र विधिपूर्वक दाहसंस्कार गरेका छन् । माओवादी पार्टीमा संलग्नताको आरोपमा तत्कालीन शाही नेपाली सेनाले २४ फागुन २०५८ मा हुकुबहादुरलाई गिरफ्तार गरी बेपत्ता पारेको थियो ।
‘हिजो युद्ध गर्नेहरू सत्तामा पुगे । तर, हाम्रा मान्छेको स्थिति पत्ता लागेन,’ द्वन्द्वपीडित समिति बर्दियाकी सदस्यसमेत रहेकी जयन्तीले भनिन्, ‘सत्तामा पुग्नेहरूले द्वन्द्वपीडितलाई न्याय दिएनन् । न्यायका लागि भौतारिँदा भौतारिँदै वर्षौं बित्यो । अन्तिममा यसरी अन्त्येष्टि गर्नुपर्यो ।’
जयन्ती अन्तिमसम्म लास वा सास टुंगो नलागेसम्म कुशको शव बनाएर अन्त्येष्टि गर्ने पक्षमा थिइनन् । तर, परिवारका सदस्य र गाउँ समाजले बेपत्ता भनिए पनि हुकुमबहादुर मारिइसकेको भन्दै उनको आत्माको शान्तिका लागि पनि धार्मिक संस्कार पूरा गर्न दबाब दिएका थिए । ‘मेरो मनमा त अझै जीवितै हुनुहन्छ भन्ने छ । कुनै न कुनै दिन टुप्लुक्क घर आउनुहुन्छ जस्तो लाग्छ । तर, सरकार बोल्दैन,’ उनी भन्छिन्, ‘परिवार, समाजको अर्कै दबाब छ । मन भारी बनाएर अन्तिम संस्कार गर्नुपर्यो ।’
बर्दिया सशस्त्र द्वन्द्वकालमा देशभरमै सबैभन्दा धेरै व्यक्ति बेपत्ता पारिएको जिल्ला हो । द्वन्द्वपीडित समितिका अनुसार, दशक लामो द्वन्द्वकालमा राज्य र विद्रोहीबाट बेपत्ता पारिएकामध्ये २ सय ५० जना व्यक्तिको स्थिति अझै पत्ता लागेको छैन ।