नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई दिन परिपत्र गरेपछि माओवादी भित्र अन्तर विरोध देखिएको छ । आज दिउँसो विश्वासको मत लिनेगरी मुख्यमन्त्री राजकुमार शर्माले आइतबार नै प्रदेश सभा संसद सचिवालयमा पत्र पठाइसकेका छन् ।
केन्द्रले नेतृत्व एमालेलाई दिने भनेपनि मुख्यमन्त्री शर्मा पछि नहट्ने बरु संसदबाट तेस्रो पटक विश्वासको मत लिने अडान कायमै राखेपछि कर्णालीको विवाद मिलाउन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंगलबार विहान सुर्खेत पुगेका हुन् ।
कर्णालीको नेतृत्व एमालेलाई दिन प्रचण्डले परिपत्र गरे लगत्तै गेम चेन्जर पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता शाही कर्णालीको विवाद समाधानका लागि माओवादी केन्द्रका नेता जनार्दन शर्माको निवासमा सोमबार राती पुगेका थिए । शर्माले नमानेपछि प्रचण्डले शाहीलाई कर्णालीमा देखिएको विवाद मिलाउन सुर्खेत पठाएका हुन् ।
सुर्खेत आइपुगेका शाहीले छलफल थालेको छन् । नेपालर्कसँगको संवादमा शाहीले भने, ‘पार्टीको जनाधार रहेको कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिँदा स्वभाविक रुपमा केही टसल भएको हो । तर केन्द्रीय पार्टीको नीति अनुसार नै चल्नुको विकल्प नभएकाले छलफलका लागि आफू सुर्खेत आएको छु । छलफल जारी छ । दिउँसोसम्म केही निष्कर्ष निस्किन्छ ।’
मुख्यमन्त्री शर्माले विश्वासको मत आज लिएरै छाड्ने भन्नुभएको छ, यस्तो अवस्थामा कसरी समाधान हुन्छ भन्ने प्रश्नमा शाहीले भने, ‘पार्टीभित्र अन्तर विरोध हुन्छ, तर समस्याहरु छलफल र सम्वादबाटै टुगिंन्छ । केही देखिने गरी परिणाम निस्किन्छ ।’
शाहीको उपस्थितीमा अहिले मुख्यमन्त्री निवासमा बैठक जारी छ । अहिले मुख्यमन्त्रीको निवासमा शाहीसहित माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल चलिरहेको छ । प्रदेश अध्यक्ष विमला केसी भने त्यहाँ उपस्थित नरहेको स्रोतले बतायो ।
प्रदेशमा माओवादी नेताहरू नै एकमत छैनन् । अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने मल्ल र उपमहासचिव शर्मा समूहका नेताहरूको बोली फरक–फरक छ । पछिल्लो समय माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती दिन खोजेको माओवादी नेताहरू बताउँछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।