कर्णालीकाे नेतृत्व एमालेलाई दिने केन्द्रीय सर्कुलरपछि छाड्न नमानेका मुख्यमन्त्री राजकुमार शर्माले अन्तत राजिनामा दिने तयारीमा रहेका छन् । २४ घण्टादेखि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डकाे सन्देश लिएर सुर्खेत आएका गेम चेन्जर माओवादी नेता महेन्द्रबहादुर शाही विवाद मिलाउन सक्रिय छन् ।
लामाे छलफलपछि खासै बाेल्न नचाएका नेताहरूले अन्तत: केन्द्रको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
शाहीले पनि एमालेसँगको छलफल सकारात्मक रूपमा अघि बढेको पनि बताए । उनले भने, ‘अरू नबोलौँ कुरा सकारात्मकतर्फ बढेको छ, केन्द्रको निर्णय कार्यान्वयन हुन्छ ।’
माओवादीको एक समूहले निर्णय कार्यान्वयनमा आनाकानी गर्दा अन्यौलता कायमै छ ।
यस्तो पृष्ठभूमिमा शाहीले सुर्खेत आएसँगै आफ्नै दलका नेताहरूका साथसाथै एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरूसँग संयुक्त र छुट्टाछुट्टै छलफल गरेका थिए ।
तर, पनि मुख्यमन्त्री राजकुमार शर्मा र कँडेलले आ–आफ्ना अडान छाडेका छैनन् ।
मंगलबार बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले आज विश्वासको मत लिएर जाने निर्णय गरिसकेको छ । तर, पूर्व मुख्यमन्त्री शाही केन्द्रको निर्णयलाई कार्यान्वयन गरेर लैजाने कुरामा सहमति जुटाउने प्रयास गरिरहेका हुन् ।
सोहीअनुसार बुधवार बिहान पनि शाहीले मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र प्रदेश अध्यक्ष विमला केसीबिच छलफल गरेका छन् ।
यसैबिच प्रदेशसभा बैठकअघि माओवादीको संसदीय दलको बैठक समेत बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने र एमालेले साथ नदिएको खण्डमा सरकार ढल्नेछ भने ठुलो दलको हैसियतले कांग्रेसको सरकार बनाउनेछ । त्यस्तो अवस्था आउन नदिन पनि नेताहरूको दौडधुप तीव्र बनेको छ ।
राजीनामा दिन चौतर्फी दबाब झेलिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बैठक बोलाएका छन् । राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन उनले प्रदेशसभा बैठकअघि संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक रनसिंह परियारले बताए ।