कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएसँगै नयाँ नेतृत्वका लागि आज दावी पेश गर्न लागिएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई व दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदसस्यहरुले एक हप्ताभित्र दावी पेश गर्न समय दिएपछि आज पेश गर्न लागिएको हो ।
कार्यालयले यहीँ चैत्र २७ गते साँझ ५ः५० सम्म दावी पेश गर्न भनेको छ । तर नेकपा एमाले र माओवादीको संयुक्त बैठक बसेर आजै दावी पेश गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिए ।
‘सरकार गठनका लागि आह्वान भइसकेको अवस्थामा संयुक्त बैठक बसेर हस्ताक्षरसहित दावी पेश गर्छौं,’ पछाइले भने, ‘सम्भवत आज दिउँसोसम्म प्रदेश प्रमुखको कार्यालयमा पुगेर पत्र बुझाउँछौं ।’ कर्णालीमा सरकारको नेतृत्वका लागि यो पटक एमालेको भागमा परेकाले एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्री बन्नेछन् । २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आएका कँडेल अब भने मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
दावी पेश भए प्रदेश प्रमुखकाे कार्यालयले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्ती गर्ने र सम्भवत भाेलीसम्ममा सपथ खुवाउने तयारी गरिरहेकाे बताइएकाे छ ।
२०७९ सालको निर्वाचनलगत्तै उनले मुख्यमन्त्री बन्ने कोसिस गरेका थिए । तर, २०७८ पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा भागबन्डा हुँदा कर्णालीको मुख्यमन्त्री पद माओवादीले लिएपछि उनी सो पदमा पुग्न असफल भएका थिए ।
अघिल्ला कार्यकालमा एमालेको स्पष्ट बहुमतसहित २० सिट थियो । २०७४ र २०७९ मा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्नेछन् ।
२०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए । तर, दुई महिनामै उक्त गठबन्धन भत्किएको थियो ।
एमाले–माओवादीले कर्णालीबारे गरेको सहमतिले उनलाई रोकेको थियो । त्यसबेला एमालेले सभामुख लिएर पाँचवर्ष नै माओवादी केन्द्रलाई मुख्यमन्त्री दिएको थियो । तर, कर्णालीमा कँडेलले माओवादी केन्द्र शर्मासँग आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति गरेका थिए ।
यसबीचमा गत फागुन २१ गते माओवादी, एमालेसहितको गठबन्धनमा फर्किए पछिको भागबन्डाले कँडेलको सत्ता यात्राको ढोका खोलिएको हो ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।