बड्डीचौर–बेनिघाट सडक अन्तगतर पर्ने बड्डीचौर खम्बगाडे सडक खण्डमा डवल कटिङको काम अन्तिम चरणमा पुगेको छ । कुल १३ किलोमिटर सडकमध्य ब्यूरेनी क्षेत्र छाडेर दुवैतर्फ करिव ९ किलोमिटर सडकको डवल कटिङको काम सकिएको हो ।
वर्षौदेखी कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकहरुलाई सहज यात्राका लागि प्रदेशको पूर्वाधार विकास निर्देशनलायले यो सडक निर्माणको काम गरिरहेको छ । तर रुख कटानको अनुमति नहुँदा हाल यो सडकको दुई हजार आठ सय मिटर सडकको कटिङ हुन बाँकी नै छ ।
‘रुख नभएको क्षेत्रमा लगभग कटिङको काम सकिएको छ,’ पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरिप्रसाद धितालले भने, ‘कटिङ सकिएको क्षेत्रमा अहिले नाला निर्माणको कामसमेत अन्तिम चरणमा छ ।’
अहिलेसम्म तीन हजार आठ सय मिटर नाला निर्माणको काम सकिएको छ । बाँकी खण्डको काम पनि भइरहेको धिताल बताउँछन् । उनकाअनुसार सात वटा कल्भर्ट निर्माणको काम सकिएको छ ।
‘ब्यूरेनी क्षेत्रमा सडक किनारामै रुख धेरै रहेकाले सडक डबल कटिङको काम सक्न कठिनाइ भइरहेको छ,’ धिताल भन्छन्, ‘रुख कटानका लागि अनुमतिका लागि हामीले ताकेता गरेका छौं । केही दिनमा अनुमति आएमा सहज हुन्छ र कामको रफ्ता पनि बढ्छ ।
सडक ट्र्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको यो सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ ।
यो सडक २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्नेछ । तर रुख कटानमा ढिलाइ हुँदा यो आर्थिक वर्षमा सडक कालोपत्रे हुने सम्भावना छैन् । तर असारसम्म कटिङ गरिएको क्षेत्रमा ग्राभेल गर्ने लक्ष्य राखिएको इन्जिनियर धिताल बताउँछन् ।
बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो ।
खम्बगाडे–बावियाचौर पाँच किलोमिटर सडकको काम डिभिजन सडक कार्यालय सुर्खेतले गरिरहेको छ । यो सडक असारसम्म कालोपत्रे गरिसक्ने कार्यालय जनाएको छ ।
बावियाचौर–विद्यापुर सडक निर्माणको जिम्मा पनि सडक कार्यालयले लिएको छ । तर त्यो क्षेत्रमा रुख भएकाले काम शुरु गरिएको छैन् । विद्यापुर–गुटु–विजौरा–बल्देसम्म मदन भण्डारी राजमार्ग योजना कार्यालयले काम गरिरहेको छ । यो सडक पनि असारसम्म ग्राभेल गर्ने र आर्थिक वर्ष ०८१-८२ मा कालोपत्रे सक्ने बताइएको छ ।
पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म जोडिने राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतका काल्चे, मालारानी, बेनिघाटको २ सय ३२ किलोमिटर सडक पर्दछ । पूर्वी खण्डको धुलियाविट–भेडावारी सडक कालोपत्रे शुरु गरिएको छ ।
यो सडकको अधिकाँश काम अगामी असारसम्म सकिने र बाँकी रहेको काम २०८१ चैत महिनासम्म सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ । सुर्खेत पश्चिममा पर्ने सडक २०५१ सालमा ट्रयाक खोलिएको हो । सडक असहजताका कारण वर्षेनी यहाँका नागरिकहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा निकै सास्ती खेप्नु परिरहेको छ ।