कर्णालीका विद्यार्थीको हातमा वर्षेनी समयमै पाठ्यपुस्तक नपुग्दा पढाइ नै प्रभावित हुने गरेको छ । कहिले कागजको अभाव त कहिले आएका पाठ्यपुस्तक समयमै ढुवानी नहुँदा विद्यार्थीको हातमा समयमै पुस्तक पुग्दैन्थे । नयाँ शैक्षिक सत्र सकिएर त्रैमासिक परीक्षासम्म पनि कर्णालीका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पुस्तक विक्री गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रको आलोचना हुने गरेको थियो ।
तर यो पटक कर्णालीमा शैक्षिक सत्र शुरु नहुनु अगावै प्रयाप्त पाठ्यपुस्तक आइपुगेको छ । कर्णालीका ७९ वटा पालिकाकामा रहेका कतिपय विद्यालयको खातामा रकम नपठाइदिँदा पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् ।
केही विद्यालयले उधारोमा पाठ्यपुस्तक खरिद गरेर विद्यालय लगिसकेका छन् । कर्णालीमा सरकारी निकाय केन्द्र र नीजि क्षेत्रको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतले पाठ्यपुस्तक विक्री गर्दै आएको छ । केन्द्रले हालसम्म २६ हजार र सहकारीले नौं हजार सेट पाठ्यपुस्तक आएको जनाएको छ ।
सरकारी र नीजिले छुट्टाछुट्टै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पठाएका छन् । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयले सात जिल्लामा पाठ्यपुस्तक पठाएको छ । केन्द्रको वीरेन्द्रनगरको धुलियाविटस्थित गोदाममा हालसम्म २६ हजार सेट पाठ्यपुस्तक आएको थियो ।
यीमध्य १० हजार सेट पाठ्यपुस्तक बिक्री गरिसकिएको केन्द्र सुर्खेतका प्रमुख भैरवबावु पन्तले जानकारी दिए । ‘गत शैक्षिक सत्रबाट पाठ्यपुस्तक प्रयाप्त रुपमा कर्णालीमा ल्याइएको छ,’ पन्तले भने, ‘हुम्ला सदरमुकाम र सर्केगाड गाउँपालिकासहित जुम्ला, सुर्खेत, दैलेख, मुगु, कालिकोट, जुम्लामा पाठ्यपुस्तक पठाइसकिएको छ ।’
हुम्लाको अन्य पालिका, डोल्पा, रुकुम पश्चिम र सल्यान जिल्लामा नेपालगञ्जबाट पाठ्यपुस्तक खरिद गरेर विक्रेताहरुले लिएका छन् ।
विगतका वर्षमा केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको थियो । तर यो वर्ष शैक्षिक सत्र शुरु नहुनु अगावै पाठ्यपुस्तक पठाउन समन्वय गरिरहेको प्रमुख पन्तले बताए ।
कक्षा १–४ का पाठ्यपुस्तकहरुको विक्री जिम्मा पाएको सहकारीले कर्णालीका जाजरकोट, दैलेख, सुर्खेत, मुगु, कालिकोट र मुगुमा पठाउने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले नेपालकर्मलाई जानकारी दिए ।
‘गत शैक्षिक सत्रमा स्टक रहेका कक्षा पाँचको दुई हजार पाँचसय सेट पाठ्यपुस्तक पनि विक्री गरेका छौं,’ खड्काले भने, ‘विगतका वर्ष जस्तो अपूरो पाठ्यपुस्तक आएको छैन्, आएका सबै पाठ्यपुस्तक सबै जिल्लामा पठाइरहेका छौं ।’
शिक्षा मन्त्रालयले सम्बन्धित पालिकाको खातामा पाठ्यपुस्तक खरिद गर्न रकम पठाउने गरेको छ । पालिकाहरुले विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि शुरुमा ७५ प्रतिशत रकम पठाएपछि विद्यालयले पुस्तक किन्ने गरेका छन् ।
विद्यालयहरुले पुस्तक खरिदका लागि सिँधै केन्द्र र नीजि तथा पुस्तक व्यवसायीहरुबाट किताव खरिद गर्ने गरेका छन् । दैलेखको दुल्लु नगरपालिकाले हालसम्म पाठ्यपुस्तक खरिदका लागि रकम नपठाउँदा विद्यालयहरुले उधारोमा पुस्तक खरिद गरेका छन् ।
नगरपाकिलाले रकम नदिएपछि पाठ्यपुस्तक उधारोमै खरिद गरिएको पञ्चश्वरी आधारभूत विद्यालय चौतारा दैलेखका प्रधानाध्यापक मात्रिका जैशीले जानकारी दिए ।
‘पाठ्यपुस्तक खरिदका लागि रकम नआएपनि शैक्षिक सत्र शुरु हुन लागेकोले व्यवसायीहरुले उधारो पत्याइदिएपछि पाठ्यपुस्तक ल्याएका छौं,’ जैशीले भने, ‘पालिकामा पुगेर रकम बारे चासो राखेपनि केही दिनमा विद्यालयको खातामा रकम पठाइदिने जानकारी पाएको छु ।’