कर्णालीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय आज (मंगलबार) सकिँदै छ । तर, गठबन्धन सरकारका लागि एमाले र माओवादी केन्द्रबीचसम्म ठाेस सहमति सहमति जुटेको छैन ।
त्यति मात्र होइन, सहमतिका लागि उनीहरूबीच सघन संवाद पनि भएकाे छैन । मुख्यमन्त्रीका दाबेदार एमाले नेता यामलाल कँडेल र कामचलाउ सरकारका मुख्यमन्त्री राजकुमार शर्माबीच २२ चैतयता भेटघाटसमेत भएको छैन ।
एमाले र माओवादी केन्द्रका संसदीय दलका यी दुई नेताबीच संवाद नै नहुँदा सरकार गठन प्रक्रिया नै अलमलमा परेको छ । माओवादीले अस्वाभाविक शक्तिमा बार्गेनिङ गरेको भन्दै एमाले नेता कँडेल संवादमै नरहेर गलाउने नीतिमा देखिन्छन् ।
माओवादी केन्द्रचाहिँ कँडेललाई दबाबमा राखेर नै मुख्यमन्त्री बनाउने रणनीतिमा देखिन्छ । एकले अर्कोलाई गलाउने रणनीतिमा रहेका नेताहरू मंगलबार साँझ ५ बजेसम्म सहमतिमा आएनन् भने के हुन्छ ? भन्ने अहिले सुर्खेतमा चर्चाको विषय बनेकाे छ।
माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले मन्त्रालय भागवण्डाको विषयलाई प्याकेज बनाएर टुङ्ग्याउने प्रयास भए पनि एमालेले नमानेका कारण सहमति जुट्न नसकेको बताए ।
अर्कोतर्फ माओवादीले एमाले नेता कँडेललाई सहज सत्ता हस्तान्तरण गर्ने पक्षमा देखिँदैन । एमाले माओवादीले दाबी गरेअनुसारका मन्त्रालय दिन तयार नभएको एमाले नेताहरूको दाबी छ ।
मुख्यमन्त्रीका आकांक्षी कँडेल पहिले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र त्यसपछि भागवण्डाको टुङ्गो लगाउने मुडमा रहेका छन् । तर, माओवादीले कँडेलको उक्त कदम नमान्ने बताउँदै आएको माओवादीको उच्च स्रोत दाबी गर्छ ।
मुख्यमन्त्रीसहित एमालेले आफ्ना एजेन्डा स्थापित गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास र समाजिक विकासम मन्त्रालय माओवादीलाई दिन नसकिने अडान राख्दै आएको स्रोत दाबी गर्छ ।
अन्य प्रदेशमा एमालेले माओवादीलाई बिनासर्त सर्मथन गर्दा कर्णालीमा भने माओवादीले एमालेसँग भागवण्डामा बार्गेनिङ गरिरहेको छ । सरकार गठन तथा मन्त्रालय भागवण्डाका विषयमा हालसम्म कुनै सहमति नभएको एमाले सचेतक टेकराज पछाई बताउँछन् ।
सत्ता गठबन्धनको सहमतिअनुसार राजीनामा दिएका शर्मा आफू काम चलाउ मुख्यमन्त्री भएको हप्ता दिन पुग्नै लाग्दा सरकार गठनका विषयमा ठोस छलफलमा नजुटी औपचारिक कार्यक्रममा सहभागी भएर समय बिताइरहेका छन् ।
मुख्ममन्त्री बन्ने तयारीमा रहेका एमाले संसदीय दलका कँडेलले पनि सत्ता साझेदारसँग हिमचिम नबढाई बसेका छन् । मुख्यमन्त्री शर्माले राजीनामा दिएपछि कँडेल र शर्माबीच बिहीबार औपचारिक छलफल भए पनि त्यसयता यी दुई नेताबीच भेटघाटसमेत नभएको बताइएको छ ।