प्रदेश स्थापनाका ६ वर्षमा लगातार मुख्यमन्त्रीको लाइनमा रहेका नेता हुन् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल । कँडेल पार्टी राजनीति र संसदीय अभ्यासमा छुट्टै पहिचान राख्ने नेताका रुपमा चिनिन्छन् । प्रष्ट र खरो विचार धारा भएका कँडेल एमाले पार्टी राजनीतिमा विद्रोही स्वाभावले परिचित छन् ।कँडेल संसदीय राजनीतिमा पुराना र अनुभवी नेता पनि हुन् । २०७४ को अघिल्लो चुनावमा एमाले कर्णालीमा पहिलो दल बनेको अहिले तेस्रो दलको हैसियतमा पुगेको छ । पहिलो दल बन्दा मुख्यमन्त्री बन्न नपाएका कँडेलको काँधमा यस पटक तेस्रो दल हुँदा कर्णालीको बागडोर परेको छ ।
२०७४ यता कँडेलले ६ वर्षको अवधिमा मुख्यमन्त्री बन्न ६ पटक प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । २०७४ को मंसिरमा भएको प्रदेशसभा चुनावबाट प्रदेशमा एमाले २० सिटसहित सबैभन्दा ठूलो दल भएकाले कँडेलले तत्कालीन एमाले–माओवादी गठबन्धनमा मुख्यमन्त्रीको दाबी गरे ।
तर, गठबन्धनमा कर्णाली माओवादी केन्द्रको भागमा परेपछि कालीकोटका माओवादी नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर नेकपा बनेपछि मुख्यमन्त्री शाही संसदीय दलको नेता पनि चयन भए ।
२०७९ को चुनावमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनाव लडे । यसपटक पनि कँडेल रणनीतिक रूपमा संघमा नलडी प्रदेशमै उम्मेदवार बने । चुनावी नतिजाले प्रदेशसभामा एमालेलाई कमजोर बनायो तर केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भत्किएर १० पुस २०७९ मा एमाले–माओवादी गठबन्धन बन्यो ।
यसले फेरि कँडेल मुख्यमन्त्री हुने सम्भावनाको ढोका खुल्यो । तर, गठबन्धनमा कर्णाली प्रदेश पुनः माओवादी केन्द्रको भागमा प¥यो । तर, कँडेलले केन्द्रको सहमतिलाई त्यतिबेला चुनौती दिएर कुनै पनि हालतमा माओवादीलाई समर्थन गर्न नसकिने अडान कसे ।
तर, २०८० फागुनमा फेरि केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल भयो । पटकपटक आफूलाई पन्छाइएकोमा उनी पार्टी अध्यक्ष ओलीसँग पनि असन्तुष्ट थिए । अध्यक्ष ओलीका कतिपय निर्देशन अवज्ञा गरेर कर्णाली प्रदेश कमिटी र जिल्ला अधिवेशन प्रभावित गरेको आरोप पनि कँडेलमाथि थियो ।
त्यसैले पनि ओली उनलाई थप चिढाउने पक्षमा थिएनन् । प्रदेश नेतृत्व बाँडफाँट गर्न बसेको बैठकमै ओलीले भनेका थिए, ‘यसपटक पनि कँडेललाई नबनाए श्राप लाग्छ ।’ त्यसैले एमाले आफ्नो प्रभाव क्षेत्र लुम्बिनीको नेतृत्वसँग कर्णाली साट्ने निर्णयमा पुग्यो ।
सत्ता गठबन्धनबीच भागवण्डा हुँदा कर्णाली एमालेको भागमा पनि प¥यो । १९ चैतको राति प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमालेलाई सत्ता हस्तान्तरण गर्न निर्देशन पनि दिए ।
पार्टी अध्यक्षले नै एमालेलाई सत्ता हस्तान्तरण गर्न भनेपछि सहजै कँडेल मुख्यमन्त्री हुने अनुमानका बीच माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको बलमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान कसे ।
तीन दिनको लगातार भेटघाट, छलफलपछि अन्ततः मुख्यमन्त्री शर्माले राजीनामा दिएर छैटौँ प्रयासमा कँडेलका लागि कर्णालीको चौथो मुख्यमन्त्री बन्ने ढोका खुलेको थियो । मुख्यमन्त्री बन्न लामो समय रिले दौड गरेका कँडेलका लागि यो सफलता चुनौती र अवसर दुवै हुनेछ ।
सहज सत्ता सञ्चालनका लागि साझेदार दल माओवादीलाई मिलाएर लैजानु तथा कर्णालीको असमानतासँग लड्नु कँडेलका लागि मुख्य चुनौति हुनेछन् । कर्णाली प्रदेश आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि छ भन्ने भाष्यलाई चिर्नु नै कँडेल सामु अर्को चुनौती खडा हुनेछ ।
रोग, भोक र गरिबी कर्णाली समृद्धिका प्रमुख बाधक रहेकाले यससँग लड्न सबै राजनीतिक दल मिलेर जानुपर्ने धारणा राख्ने कँडेल यिनै बाधकसँग लड्न कस्तो नीति अपनाउछन् भन्ने विषयले नै कँडेलको क्षमता मापन हुनेछ । यसका लागि चार तिर मुख फर्काएका दलहरुलाई सहमतिमा ल्याउन उनका लागि चुनौतिको विषय बन्ने छ ।
खासगरी एमालेले उठाउने गरेको आर्थिक, राजनीतिक, सामाजिक न्यायसहितको सांस्कृतिक पहिचानको एजेण्डाका हिसाबले पनि कर्णालीमा केही गर्नुपर्ने बाध्यता एमालेमा छ ।
एमालेले चाहेको आर्थिक, समाजिक न्यायसहितको कर्णाली समृद्धिको खाका कस्तो हुने भन्ने देखाउनुपर्ने दबाब कँडेलमाथि छ । अर्थात, एमालेले कस्तो कर्णाली बनाउन चाहेको हो ? भन्ने स्पष्ट मार्ग दर्शनसहितको सकारात्मक सन्देश दिएर कँडेल कमरेड सफल हुन्छन् या विगत कै मुख्यमन्त्रीको हविगत दोहो¥याउँछन त्यो हेर्न धेरै समय पर्खनु पर्ने भने छैन ।
यस्तो छ कँडेलको राजनीतिक पृष्ठभुमि
२५ कार्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुवा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनु पूर्व शिक्षण पेशामा संलग्न थिए ।
२०३६ सालमा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए कँडेल । चार जनाले सहादत्त प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । उनी त्यति बेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेशामा संलग्न थिए ।
किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापतिको उम्मेदवारसम्म पुग्यो । तर, उनी नेविसंघका उम्मेदवार सुर्खेत हृदयराम थानीसँग पराजित भए ।
२०४२-४३ सालमा झण्डै नै महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशिल राजनीतिमा संलग्न भएका थिए ।
२०४९ सालमा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए । २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए कँडेल ।
२०५१ सालमा मेयर पदबाट राजिनामा दिई मध्यावधि निर्वाचनमा कांगे्रसका हृदयरामथानीलाई पराजित गर्दै पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेको अनुभव कँडेलसँग छ । संकरदेव क्याम्पसको अनेरास्ववियूको सभापतिमा थानीसँग हारेको बदला कँडेलले यस पटक लिएका थिए ।
२०५१ सालमा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आवद्ध भएका थिए । मालेमा आवद्ध भए लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कँडेल पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्न सफल भएका थिए ।
२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांगे्रसका हृदयराम थानीसँग पराजित भए । २०६४ मा माएमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए उनी ।
विसं २०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदूरपश्चिम प्रदेशमा मिसाएपछि उनले छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाइ गरेका थिए ।
२०७० पुनः सोही क्षेत्रबाट कांगे्रसका हृदयरामथानीसँग कँडेल पराजित भए । यस्तै २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्षनिर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीयदलको नेतासमेत हुन् ।
कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १० औँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य छन् । कर्णालीको इन्चार्जसमेत रहेकाउनी हाल स्थायी कमिटी सदस्य र दैलेख इञ्चार्जको जिम्मेवारीमा छन् ।
एमाले–माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइञ्चार्ज र स्थायी कमिटी सदस्य रही काम गरेको अनुभव कँडेलसँग छ ।
कँडेलले शकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायत लगायतका देशहरुमा वैदेशिक भ्रमण गएको अनुभव सम्हालेका छन् ।