कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको प्रतिष्ठा अभिवृद्धि गरी कर्णालीवासीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु आफ्नो सर्वोपरी लक्ष्य रहेको बताएका छन् । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । समृद्ध कर्णालीको साझा लक्ष्यलाई प्राप्त गर्न सबैका बिच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष उपलब्धी र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने विश्वास उनले लिएका छन् ।
‘नयाँ वर्षको प्रारम्भसँगै नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु । यस सुखद अवसरमा विगतका तितामिठा अनुभवबाट शिक्षा लिई सुखद भविष्यका लागी हामी सबैलाई असल र सही गन्तव्य पहिल्याउन प्रेरणा मिलोस् भन्ने कामना गर्न चाहान्छु ।’ मुख्यमन्त्री कँडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
सात दशक लामो नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको क्रममा रहेको बताउँदै मुख्यमन्त्री कँडेलले संघीयताको मूल मर्म अनुसार अझै पनि प्रादेशिक संरचना तथा यस अन्र्तगत आवश्यक नीतिगत र कानूनी प्रावधानहरुको ठुलो अभावहरु रहेको बताएका छन् ।
‘कानूनी र नीतिगत प्रबन्धबिना प्रदेश संरचना अधिकार सम्पन्न र थप बलियो हुन सक्दैन,’ कँडेलले भनेका छन्, ‘नयाँ वर्षको सुरुवातसँगै प्रादेशिक संरचनाका लागी आवश्यक पर्ने संविधान प्रदत अधिकारमा महशुस हुने गरि कार्यको थालनी हुने मैले अपेक्षा लिएको छु ।’
प्राकृतिक साधन र श्रोतले सम्पन्न भएर पनि कर्णालीबासी विकास, समृद्धि र सुशासनका दृष्टिले पछाडी रहेको सन्दर्भमा कर्णालीका असंख्य संभावनाहरुलाई अवसरमा बदल्न सबैले साझा अभियानका रुपमा लिएर हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको मुख्यमन्त्री कँडेलले भनेका छन् ।
मख्यमन्त्री कँडेलद्वारा जारी शुभकामना सन्देश