राजनीतिक दलहरूका भाषा र भाषणका प्रमुख अंश नै स्थायित्व, सुशासन, विकास र समृद्धि हुन्। नेताहरूले लिखित वा मौखिक रूपमा व्यक्त गर्ने धारणालाई यी नै विषयले ओजिलो पारिदिएका हुन्छन्।
सार्वजनिक मञ्चहरूमा उभिएर स्थायित्व, सुशासन, विकास र समृद्धिको भाषण दिने राजनीतिक नेतृत्वले नयाँ वर्ष २०८१ को शुभकामना दिने क्रममा पनि यिनै कुरामा जोड दिएका छन्। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरतालाई २०८१ मुख्य जिम्मेवारीभित्रको प्रमुख एकका रूपमा लिएका छन्।
शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन्।’
उनले विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ-आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन आह्वान पनि गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अग्रसर हुनुपर्नेमा उल्लेख गरेका छन्। अर्का पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि आर्थिक समृद्धिमा जोड दिएका छन्।
तर दलहरूले यसरी स्थायित्व, विकास, समृद्धि र सुशासनको संकल्प गरे पनि व्यवहारमा सत्तास्वार्थमै केन्द्रित देखिएको आमबुझाइ छ। पटक–पटक सत्ता समीकरण परिवर्तन र मन्त्रिमण्डल हेरफेर गर्नाले २०८० राजनीतिक दृष्टिकोणले देश र जनताका लागि फलदायी नभएको धेरैको ठम्याइ छ।
राजनीतिक दलकै कतिपय नेताहरूले गतवर्ष नेपाल र नेपालीका लागि सुखद नरहेको निष्कर्ष निकालेका छन्। एमाले महासचिव शंकर पोखरेल २०८० साल अस्थिरताको दुष्चक्रको भुमरीमा नेपालका राजनीति रहेको बताउँछन्।
नयाँ वर्षको शुभकामना दिँदै पोखरेलले वर्षको अन्तिमतिर बनेको समीकरणले भने जनतामा नयाँ आशा सञ्चार गरेको जिकिर गरेका छन्। ‘वर्ष २०८० नेपाल र नेपालीका लागि सुखद रहन सकेन। राजनीतिक अस्थिरताको दुष्चक्रको भुमरीमा नेपालको राजनीति रह्यो’, उनले भनेका छन्, ‘नीतिहीन‚ योजनाहीन,लक्ष्यहीन र गन्तव्यहीन गठबन्धनका कारण मुलुक संकटतिर उन्मुख भएका वेला वर्षको अन्त्यतिर समीकरणमा आएको बदलावले जनतामा नयाँ आशाको सञ्चार गर्ने प्रयत्न भयो।’
एमाले सचिव पद्मा अर्याल पूर्ण राजनीतिक स्थायित्वका लागि अब मुलुकमा दुई कित्ताको ध्रुवीकरण आवश्यक रहेको बताउँछिन्। अहिले धेरै दलहरू भएकैले कुनै दलले पनि एकल बहुमत ल्याउने अवस्था नरहेको उनको तर्क छ।
‘राजनीतिक स्थायित्वका लागि मुलुकमा ढिलोचाँडो दुई कित्ताको ध्रुवीकरण आवश्यक छ। राजनीति त्यो कोर्समा नगए अहिले जो सबैभन्दा थोरै सिट ल्याउँछ, उसैले प्रधानमन्त्री, मुख्यमन्त्रीको बार्गेनिङ गर्ने, सांसदहरूकै संख्या बराबरको मन्त्री माग्ने परिस्थिति आयो’, उनले भनिन्, ‘त्यसकारण दुई ठूला शक्तिहरूबीच प्रतिस्पर्धा आजको आवश्यकता हो। त्यो दिशातर्फ राजनीतिलाई लैजाने गरी अबका कोर्सहरू अगाडि बढ्नुपर्छ।’
तर २०८४ सम्मका लागि जनादेश प्राप्त भइसकेकाले यसैबाट स्थायित्वको ग्यारेन्टी नहुने सचिव अर्यालको धारणा छ। ‘यो पाँच वर्षका लागि जनादेश प्राप्त भइसकेको छ । यसको आधारमा अहिले सम्हालिने खालको वातावरण नबन्दा त अस्थिरता नै हो’, उनी भन्छिन्, ‘अंकगणितकै आधारमा राजनीति चल्ने हो।’
‘अस्थिर दल’को उपमा नै पाएको अर्को सत्तारुढ दल माओवादी केन्द्र अझै स्थिरताको ग्यारेन्टी गर्न नसकिने बताउँछ। माओवादी सचिव लीलामणि पोखरेल वर्तमान निर्वाचन प्रणालीका कारण स्थायित्वतिर जान नसकिने बताउँछन्।
‘गत वर्ष भ्रष्टाचार विरोधी अभियानहरूको नयाँ उजागर भयो। नयाँ परिस्थितिको उजागर भयो, जसले जनतामा नयाँ आशा पलायो तर त्यो जसरी अझ अगाडि बढ्नुपर्ने हो त्यसरी नबढेको हो तर सुरुवात भयो। यो राम्रो कुरा हो’, उनले भने, ‘अब २०८१ ले समग्र हिसाबले एउटा नयाँ सेटलमेन्ट ल्याउने अपेक्षा गर्न सकिन्छ। स्थायित्व होला-नहोला त्यो भन्न सकिन्न। हाम्रो पार्लियामेन्ट्री सिस्टम जुन छ, त्यसले गर्दा हामीलाई स्थायित्वतिर जान मुस्किल छ।’
देशको वर्तमान ठूलो दल कांग्रेस स्थायित्वका लागि अब आफैँ मुख्य जिम्मेवार हुने बताउँछ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा अस्थिरताको चरम प्रयोग भइसकेकोले अब ठूला दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको नेता विश्वकर्मा बताउँछन्।
‘२०७२ को संविधान जारीपछि भएका दुईवटा निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत नल्याउने र दलहरूबीच सहमति सहकार्यको कार्यशैली भरपर्दो नभएका कारण अस्थिरता भएको थियो त्यो परिस्थितिको पनि चरम प्रयोग भइसकेको हुनाले अब विस्तारै बलिया दलहरू जिम्मेवार बन्दै जाने र जनआकांक्षा अनुसार मुलुकलाई अगाडि लैजान सहकार्य हुन आवश्यक छ’, उनले भने, ‘हामीले त्यो गरेनौं भने मुलुकमा निराशा व्याप्त हुन्छ, त्यसले मुलुकलाई पछाडि पार्छ।’
साना दलहरूको अयोग्यता र उत्ताउलोपन देखाएर ठूला दलहरू उम्कन नमिल्ने नेता विश्वकर्माको तर्क छ। ‘दलीय व्यवस्थामा दलहरू नै जिम्मेवार हुनुपर्छ। दलहरू नै जवाफदेही हुनुपर्छ। यो मूल्यमान्यताबाट हेर्ने हो भने कांग्रेस एमाले जस्ता ठूला दल नै जिम्मेवार हुनुपर्छ’, उनी भन्छन्, ‘साना दलहरूलाई गाली गरी उनीहरूको अयोग्यता देखाएर, उनीहरूको उत्ताउलोपनमा मुकदर्शक भएर बस्नु हुँदैन।’
सत्तारुढ तथा प्रतिपक्षी दलहरूको भनाइलाई आधार मान्ने हो भने २०८१ पनि अस्थिरताकै वर्ष हुने संकेत देखिन्छ। उसो त विश्लेषकहरू पनि स्थायित्वको सम्भावना देख्दैनन्।
विश्लेषक पीताम्बर भण्डारी राजनीतिक स्थायित्वको आवश्यकता खड्किए पनि आगामी वर्ष अस्थिरता थप मौलाउने परिस्थिति बनेको देख्छन्। उनी भन्छन्, ‘सत्ता गठबन्धनबाट प्रतिपक्षी दलको समन्वयविना नै जसरी संसद्को अधिवेशन अन्त्य भयो, यो एउटा बुझ्नुपर्ने पाटो छ। अर्को कुरा वर्षको अन्तिममा व्यवस्थाविरुद्ध आवाज उठ्यो, संसद्मै संविधानमाथि प्रश्न उठिरहेको अवस्था छ। यसले चाँडै केही नतिजा निकाल्छ भन्ने त होइन तर यस्तै मुद्दाहरूलाई सत्ताको खेलसँग जोडिने अस्थिर परिपाटी हुन सक्छ भने शीर्ष दलकै केही नेतृत्वहरूले नै वर्तमान गठबन्धनलाई लिएर सार्वजनिक मञ्चहरूमा जसरी अभिव्यक्ति दिइरहेका छन्। यसले २०८१ अझ पेचिलो बन्ने देखाउँछ।’
स्थायित्व राजनीतिक संस्कार र व्यवहारमा भर पर्ने भए पनि दलहरूमा त्यो नदेखिएको विश्लेषक भण्डारी बताउँछन्। ‘संख्या, संसद्, राजनीतिक विचारधारा त सबै देशका दलहरूले अंगीकार गरेका तत्त्वहरू हुन्। यसलाई केलाएर मात्र स्थायित्व हुने होइन। स्थायित्व भनेको राजनीतिक संस्कार र व्यवहारमा भर पर्छ, जुन दलहरूमा देखिएको छैन’, उनी भन्छन्, ‘कसरी हुन्छ संविधानको धारालाई आफ्नो अनुकूल व्याख्या गर्दै लाने, त्यहाँभित्रका छिद्रलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि प्रयोग गर्ने जस्ता देखिएका कारणले स्थायित्व सम्भव देखिँदैन।’
अर्का विश्लेषक चन्द्र किशोर पनि २०८१ लाई स्थायित्वको वर्षका रूपमा देख्दैनन्। यद्यपि, सत्ता समीकरण वा सरकार परिवर्तन हुनुलाई पालुवा फेरिने प्रक्रियासँग तुलना गर्दै त्यसलाई कसरी लिने भन्ने भर पर्ने बताउँछन्।
‘शुरुमा त स्थायित्व केलाई भन्ने ! राजनीतिक इतिहास हेर्ने हो भने सत्ता राजनीतिमा षड्यन्त्र पाउँछौं, समाजमा आन्तरिक द्वन्द्व भइरहेकै छन् तर समाज अगाडि बढिरहेकै छ’, उनी भन्छन्, ‘पृथ्वी पनि चलायमान छ तर बाहिरबाट हेर्दा त स्थिर देखिन्छ नि‚ त्यसकारण कसरी हेर्ने भन्नेमा पहिला त भर पर्छ।’