सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने छारे भीरमा चट्टान फोडेर सडक निर्माण ९० प्रतिशत पूरा भएको छ। भीरमा होल खोप्ने, विष्फोट गर्ने, मेसिन लगाएर निर्माण गर्नेलगायत काम एकसाथ सुरु गरेपछि सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो।
हुम्ला जिल्ला दुली कुनादेखि लालीबगरसम्मको सडक निर्माण जिम्मा पाएको सेनाका सो क्षेत्रका योजना प्रमुख अमृत पराजुलीका अनुसार छारे भीरमा प्रारम्भिक ट्रयाक खुलाउने कार्य ९० प्रतिशत पूरा भएको बताए।
सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो। छारे क्षेत्रको पाँच सय मिटर चट्टानी भीरलाई बिष्फोट गरेर सडक निर्माण गर्ने कार्य भएको छ। अब सडकको ग्रेड मिलाउने, साईटमा ग्यावीन लगाउने, साँघुरो सडकलाई चौढा गर्ने कार्य पनि सँगै भइरहेको छ।
मेसिनले सडक पाँचदेखि सात मिटर चौडा निर्माण गरिएको छ। ५० मिटर अग्लो भीरलाई झारेर सडक निर्माण गरिएको छ। सो भीरको सडकलाई सेनाले डेढ वर्षमा विष्फोट गरी सडक निर्माण गरेको हो। उनले सडकको ट्रयाक खोल्ने कार्य पूरा भए पनि त्यसलाई केही संरचना निर्माण गर्ने कार्य भइरहेकाले अझै केही दिन यातायात भने सुचारु गरिने छैन।
बिहान–बेलुका मानिस र खच्चड हिँड्न दिए पनि दिउँसो काम गर्ने समयमा भने रोक्ने गरिएको छ। दुल्ली कुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडकमा सबैभन्दा असजिलो छारे खण्डको सडक हो।
यसअघि लालीबगरको एक सय मिटर र सुनाखाडा क्षेत्रको डेढ सय मिटर असजिलो चट्टानी भीरमा सडक निर्माण गर्ने कार्य सेनाले पूरा गरिसकेको थियो भने छारेबाट ल्याप्चेसम्म र चारेबाट लालीबगर क्षेत्रको सडक यसअघि नै निर्माण कार्य गरि सकेको थियो।
०७८ साल चैतबाट सेनाले सो क्षेत्रमा काम सुरु गरेको थियो। प्रारम्भिक ट्रयाक खोल्ने कार्य भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छैनन्। यद्यपि हिल्सा सिमकोट सडक आयोजनाको खार्पुदेखि हिल्सासम्मका सडक निर्माणका लागि आवश्यक साधनलाई भने स्थानीय प्रशासनको सिफारिसमा भने बिहान र बेलुकाको समय मिलाएर छोड्ने गरिएको छ। असार मसान्तसम्म सेनाले सो खण्डको सडक निर्माण गरी हस्तान्तरण गर्ने कार्यतालिका छ।
करिब ९० प्रतिशत मात्र काम बाकी रहेका बेला ३ दिनमा ३ वटा गाडी पास भएका छन् । आजका मिति सम्म सदरमुकाम स्थीत सिमकोट गाउँपालिकाको गाडी एक टिप्पर र जिल्ला प्रहरी कार्यालय हुम्लाको गाडी जिल्ला सदरमुकाम सिमकोटमा पुगेका छन् ।